बागलुङ, १६ चैत
खुला कालिका कप पुरुष भलिबल प्रतियोगिताको उपाधि घले हार्भेस्टिङ अष्ट्रेलियाले जितेको छ। चैतेदशैं मेलाको अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा आयोजित प्रतियोगितामा सिद्धार्थ चस्मा घरलाई पराजित गर्दै घले हार्भेस्टिङ अष्ट्रेलिया च्याम्पियन बनेको हो।
नेपाल पुलिस क्लबका खेलाडी आबद्ध रहेको घले हार्भेस्टिङ अष्ट्रेलिया र गण्डकी प्रदेश भलिबल टिमका खेलाडीहरूको बाहुल्यता रहेको सिद्धार्थबीचको फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक बनेको थियो। पाँच सेटसम्म चलेको खेलमा घलेले ३–२ को जित निकाल्दै उपाधि कब्जा गरेको हो।
घलेले पहिलो सेट २६–२४ ले जितेको थियो भने दोस्रो र तेस्रो सेटमा पराजय व्यहोरेको थियो। सिद्धार्थले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो। चौथो सेटमा भने घलेले २५–१६ को जित निकाल्दै खेल बराबरीमा ल्यायो। निर्णायक पाँचौँ सेटमा घलेले १५–८ ले जित निकाल्दै उपाधि सुनिश्चित गर्यो।
विजेता घले हार्भेस्टिङ अष्ट्रेलियाले नगद तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सिद्धार्थ चस्मा घरले दुई लाख रुपैयाँमा चित्त बुझाएको छ।आइतबार सुरु भएको फाइनल खेल वर्षाका कारण प्रभावित भएपछि सोमबार दिउँसो मात्र सम्पन्न गरिएको थियो।
प्रतियोगितामा घले हार्भेस्टिङ अष्ट्रेलियाका पहल गहतराज सर्वोत्कृष्ट खेलाडी घोषित भए। सिद्धार्थका सन्तोष बिक र घलेकै बलराम गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट खेलाडीहरूलाई जनही पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो।
त्यसैगरी, डिफेन्डरतर्फ सिद्धार्थका राजन दर्लामी, राइजिङ प्लेयरतर्फ घलेका रेसम बिक, सर्भरतर्फ घलेकै विष्णु बस्नेत, ब्लकरतर्फ सिद्धार्थका हिमाल सुनार तथा उत्कृष्ट प्रशिक्षकतर्फ घलेका मुकेश सेन्चुरी घोषित भएको खेल संयोजक किशोर छन्त्यालले जानकारी दिनुभयो।
यसैबीच, खुला महिला भलिबल प्रतियोगिताको उपाधि इलाइट भलिबल एकेडेमी पोखराले जितेको छ। फाइनल खेलमा इलाइटले शान्ता मावि पोखरालाई सोझो ३–० सेटमा पराजित गरेको हो। इलाइटले २५–२३, २५–२२ र २५–२३ को सेटमा जित निकाल्दै उपाधि हात पारेको हो।
विजेता इलाइटले एक लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता शान्ता माविले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।
