बागलुङ, १४ चैत
राष्ट्रिय आर्थिक गणना–२०८२ लाई सफल बनाउन आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता सरोकारवालाहरुले जनाएका छन् । जिल्ला आर्थिक गणना कार्यालय, बागलुङद्वारा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले सत्यतथ्य र विश्वसनीय रुपमा आर्थि विवरण/तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिएका हुन् । प्रमुख जिल्ला अधकारी कृष्णप्रसाद आचार्यले आर्थिक गणना राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गर्नुपर्ने बताए । उनले मुलुकको नीति तथा योजना निर्माणका लागि आर्थिक गणना महत्वपूर्ण रहेको उल्लेख गरे ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले आर्थिक गणनाले तीन तहका सरकारलई नीति निर्माण र योजना तुर्जमा गर्न सहयोग पुग्ने धारणा राखे । बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले सबै उद्योग/व्यवसाय र प्रतिष्ठानलाई सही विवरण दिन आग्रह गरे । आर्थिक गणनालाई प्रभावकारी र विश्वसनीय बनाउन सङ्घले सहयोग र समन्वय गर्ने बताए । नेपाल पत्रकार महासङ्घ, बागलुङका अध्यक्ष राम थापाले आर्थिक गणनाका विषयमा समुदालाई सुसूचित गर्न सञ्चारमाध्यमले भूमिका निर्वाह गर्ने बताए ।
उनले आर्थिक गणना सफल पार्न महासङ्घ सहकार्य गर्न तयार रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी, बागलुङ नगर समितिका अध्यक्ष रामप्रसाद अधिकारीले आर्थिक गणना सफल पार्नु सबैको साझा दायित्व रहेको उल्लेख गरे । कार्यक्रममा कार्यालय प्रमुख चन्द्रकान्त सुवेदीले आर्थिक गणनाको तयारी, आवश्यकता र महत्वबारे प्रस्तुतिकरण राखेका थिए । औद्योगिक तथा व्यापारिक संरचनाको जानकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास लक्ष्य मापन, प्रतिस्पर्धी क्षेत्रहरुको उजागर, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा योगदानको मापन आदिका कारण आर्थिक गणनाको महत्व रहेको उनले बताए ।
आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म राष्ट्रिय आर्थिक गणना हुँदैछ । जसअन्तर्गत विभिन्न वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने औपचारिक वा अनौपचारिक सबै प्रतिष्ठान/व्यवसायहरुको गणना गरिने जनाइएको छ । बागलुङमा पनि गणनाको तयारी भइरहेको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ । गणनाका लागि गणक, सुपरीवेक्षकलगायत ३६ जना जनशक्ति परिचालन गरिने भएको छ ।
