पोखरा, १४ चैत
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की–१ बाट निर्वाचित खडकराज पौडेल ‘गनेस’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त हुनुभएको छ । पर्यटकीय राजधानी पोखरामा जन्मनुभएका उहाँलाई मुलुकको सिङ्गो पर्यटन क्षेत्र सुधारको जिम्मेवारी प्राप्त भएको छ ।
साहित्यिक वृत्तमा गनेस पौडेलले परिचित उहाँ यसअघि पोखरामा बसेर साहित्य लेखन, पठन संस्कृतिको प्रवद्र्धनसँगै सामाजिक मुद्दामा पैरवी गर्दै आउनुभएको थियो । पौडेल वातावरण, सम्पदा, कला, संस्कृति संरक्षणका मुद्दालाई पनि विभिन्न माध्यमबाट प्रखर रुपमा उठाउँदै आउनुभएको थियो । विसं २०७४ मा पहिलो उपन्यास कृति ‘पैताला’बाट लेखकका रुपमा उदाउनुभएका उहाँ अखबारी लेखनमा पनि उत्तिकै सिद्धहस्त हुनुहुन्छ ।
विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको पुस्तक ‘अफ् माइस एन्ड मेन’को नेपाली संस्करण ‘मुसा मानुष’ पनि पौडेलद्वारा अनुदित कृति हो । पौडेलले पोखरामा पठन संस्कृतिको विकासका लागि स्थापित ¥यान्डम रिडर्स सोसाइटी अफ् नेपालकाका परिकल्पनाकारसमेत हुनुहुन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रका नागरिकका सरोकारका विषय उठानमा पनि उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।
विसं २०३६ मा पोखरा महानगरपालिका–१४ मझेरीपाटनमा जन्मनुभएका पौडेलले पोखरा विश्वविद्यालयबाट एमबीए र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गर्नुभएको छ । उहाँसँग शिक्षण पेसाकोसमेत अनुभव छ । पौडेल विसं २०७९ को स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिको प्रमुखमा उम्मेदवार बन्नुभएको थियो ।
त्यसबेला ‘लौरो’ चिन्ह लिएर चुनाव लड्नुभएका उहाँले पाँच हजार एक सय २८ मत ल्याएर पराजित हुनुपरेको थियो । पौडेलले दलीय एकाधिकार, भ्रष्टचार र बेथितिविरुद्ध ‘अटेरी अभियान’ सञ्चालन गर्नुभएको थियो । साहित्य लेखनसँगै सामाजिक अभियानमा आफूलाई क्रियाशील बनाउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल उहाँले बालेन्द्र शाह नेतृत्वको सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो । राजनीतिमा लागेको छोटो अवधिमै उहाँ राजकीय भूमिकामा पुग्नुभएको छ ।
पौडेल पर्यटनमन्त्री नियुक्त भएसँगै पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीलगायतले पर्यटन क्षेत्रको सुधार र दिगो विकासको अपेक्षा राखेका छन् । उहाँको कार्यकालमा पर्यटन क्षेत्रमा नीतिगत सुधारसँगै लगानीको सुरक्षा, पर्यटन पूर्वाधार विकास र प्रवद्र्धनका कामले गति लिने विश्वास गरिएको छ ।