बागलुङ, ११ चैत
बागलुङ बजारमा रु.हजार दरका एउटै नम्बर भएका नक्कली नोट फेला परेका छन्। विभिन्न बैंकमा ग्राहकले जम्मा गर्न ल्याएको रकमभित्र नक्कली नोट भेटिएको हो।बजार क्षेत्रमा नक्कली नोट भेटिन थालेपछि बागलुङ उद्योग वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले विज्ञप्ति जारी गर्दै व्यवसायी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
जारी सूचनाअनुसार पछिल्ला केही दिनयता विशेषगरी रु. १,००० दरका नक्कली नोट फेला परेको जानकारी प्राप्त भएको छ। यस्ता नोटको प्रयोग बढ्दै जाँदा व्यवसायी तथा उपभोक्तामा आर्थिक क्षति हुने जोखिमसमेत बढेको उल्लेख गरिएको छ।
संस्थाहरूले नगद कारोबार गर्दा नोट राम्रोसँग जाँच गर्न, शंका लागेमा नजिकको बैंक वा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेका छन्। विशेषगरी नोटमा रहेका सुरक्षा चिन्हहरू (वाटरमार्क, सेक्युरिटी थ्रेड तथा रिलीफ प्रिन्ट) जाँच गरेर मात्र कारोबार गर्न सुझाइएको छ।
त्यस्तै, सक्दो नगद कारोबार घटाई डिजिटल माध्यम प्रयोग गर्न पनि आग्रह गरिएको छ। नक्कली नोट भेटिएमा तुरुन्त सम्बन्धित बैंक वा स्थानीय प्रशासनसँग समन्वय गर्न अनुरोध गरिएको छ।
व्यवसायी, सर्वसाधारण तथा वित्तीय संस्थाबीच सहकार्य गर्दै यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सबै सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ
