• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र प्रभावित

पोखरा, ३ चैत

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ । अमेरिका–इजरायल र इरानबीच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय याममै पोखरासहित आसपासका गन्तव्यमा चहलपहल कम देखिएको हो ।

पोखरा आउने झण्डै ५० प्रतिशत विदेशी पर्यटकले आफ्नो ‘बुकिङ’ रद्ध गरेको ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो । “मध्यपूर्वका देश भर नेपाल आउने युरोप–अमेरिकाका पर्यटक हवाई असुरक्षा र उडान रद्ध भएका कारण आउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “यही अवस्थामा लम्बिदैँ गएमा कोभिड–१९ महामारीका बेला जस्तै पर्यटन क्षेत्र ठप्प हुनसक्छ ।”

पदयात्रामा आउने विदेशी पर्यटक न्यून हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रलगायत गन्तव्यस्थल सुनसान बनेको उहाँको भनाइ छ । पदयात्रा पर्यटनका लागि चैत–वैशाखको याम उत्तम मानिन्छ । “यो विदेशी पर्यटक बढी आउने याम हो, यही बेला मध्यपूर्वमा चर्किएको युद्धले आवागमन प्रभावित बनेको छ, पर्यटकले बुकिङ रद्ध गरिरहेका छन्”, अध्यक्ष आचार्यले भन्नुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यस याममा दैनिक ३५ सयदेखि चार हजारसम्म पर्यटक नेपाल भित्रने गरेकामा मध्यपूर्वको तनावपछि १८ सयदेखि दुई हजारसम्म मात्र पर्यटक आइरहेको बताउनुभयो ।

“युरोप, अमेरिकालगायत पश्चिमा मुलुकबाट मध्यपूर्वका देश हुँदै नेपाल आउने पर्यटकको संख्यामा भारी गिरावट आएको छ”, उहाँले भन्नुभयो, “चाँडो युद्ध समाप्त भएर मध्यपूर्वको अवस्था सामान्य नबन्ने हो भने अझै ठूलो सङ्कट नेपालको पर्यटन क्षेत्रमा आउँछ ।”

मध्यपूर्वमा जारी युद्धका कारण कतार र युएई जस्ता मुख्य ‘ट्रान्जिट हब’हरु प्रभावित हुँदा नेपालमा पर्यटक आगामन घटेको प्रमुख लामिछानेले बताउनुभयो । जसको प्रत्यक्ष असर पर्यटकीय राजधानी पोखरामा पनि परेको उहाँको भनाइ छ । नेपाल आउने पर्यटकमध्ये ७० देखि ७८ प्रतिशत पर्यटक पोखरा आउने गरेका छन् । “पर्यटन बोर्डले पछिल्लो समय दक्षिणपूर्वी एसियाली देशमा पर्यटन प्रवद्र्धनको सोच र योजना बनाइरहेको छ”, प्रमुख लामिछानेले भन्नुभयो, “यसले नेपालको पर्यटन बजारलाई अन्तर्राष्ट्रिय जगतमा थप विस्तार गर्छ ।”

विदेशी मुलुकमा भइरहेको युद्ध र अशान्तिको असर नेपालको पर्यटन क्षेत्रमा पनि पर्ने भएकाले नयाँ ढङ्गले पर्यटन प्रवद्र्धनको योजना बनाउनुपर्ने उहाँको भनाइ छ । ‘दा भिन्ची’ टुर्स एण्ड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत राजु थापाले नेपाललाई हवाई मार्गबाट जोड्ने कतार, युएई, कुवेतलगायत देशको हवाई उडान प्रभावित हुँदा नेपाल आउने पर्यटकलगायत सर्वसाधारण समस्या परेको बताउनुभयो ।

“असुरक्षाका कारण धमाधम उडानहरु रद्ध भइरहेका छन्, वैकल्पिक हवाई मार्ग प्रयोग गर्दा महँगो शुल्क तिनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । नेपाल आउने अधिकांश पर्यटक र यात्रुले ‘प्रि–बुकिङ’ रद्ध गरेको प्रमुख कार्यकारी अधिकृत थापाले बताउनुभयो । युरोप, अमेरिकालगायत पश्चिमा देशबाट नेपाल आएका पर्यटकलाई सम्बन्धित देशमा फर्किन कठिन भइरहेको उहाँको भनाइ छ ।

“मध्यपूर्वका देशमा ‘ट्रान्जिट’ भएर नेपाल आउने र युरोप–अमेरिका जाने यात्रु तथा पर्यटक समस्यामा परेका छन्”, उहाँले भन्नुभयो, “कतिपयले थाइल्याण्ड, दिल्लीलगायत वैकल्पिक हवाई मार्गको प्रयोग गरिरहेका छन् ।” कोभिड–१९ महामारीपछि जेनतेन उठेको पर्यटन क्षेत्र मध्यपूर्वको युद्धका कारण पुनः शिथिल हुने भय पर्यटन व्यवसायीमा छाएको छ । अघिल्लो पर्यटकीय याममा पनि ‘जेन्जी’ आन्दोलनका कारण पर्यटक आवागमन केही घटेको थियो ।

सङ्कटका बेला विदेशी पर्यटकलाई सुरक्षित तबरले गन्तव्यस्थलसम्म पु¥याउने काममा पोखरामा क्रियाशील ‘टान’लगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाले सहजीकरण गर्ने गरेका छन् । पोखरालगायत आसपासका क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकको संख्या बर्सेनि वृद्धि भइरहेकामा अन्तर्राष्ट्रिय जगतमा सिर्जित असहज परिस्थितिले पर्यटकीय गतिविधि प्रभावित भएको हो ।