बागलुङ, ३ चैत
मध्यपूर्वमा जारी युद्ध कारण सिर्जित असहज परिस्थितिमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन पूर्वसतर्कता अपनाउने बागलुङका सरोकारवालाले निर्णय गरेका छन् ।
सोमबार भएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमो विपद् व्यवस्थापनको पूर्वतयारी र नागरिकको दैनिकीमा परेको प्रभाविका विषयमा छलफल भएको हो । उनीहरुले दैनिक उपभोग्यमध्ये पेट्रोलियम पदार्थ र एलपी ग्याँस लगायतको अभाव हुन नदिने उपायको खोजी गरेको बताए ।
स्थानीयतहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, सरोकार राख्ने सबैखाले कार्यालयका प्रतिनिधिसमेतले छलफल गरेर आगामी दिनमा कुनैपनि समस्या आउन नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए । अघिल्ला वर्षमा भएका विपद्जन्य समस्याका पीडितले अहिले पनि घर बनाएर बस्न नसकेकोले उनीहरुको समस्या कसरी समाधान गर्ने भन्नेमा समेत धेरैको चासो थियो ।
“पाँच वर्षअघिको बाढीबाट पीडितहरुले ढोरपाटनमा घर बनाउन सकेका छैनन्, बनाएकाहरुले पनि राज्यको साथ पाएनन्”, ढोरपाटन नगरपालिकाका कावाप्रमुख धनबहादुर कायतले भने, “राज्यको नीतिअनुसार केही साथ र सहयोग पाउने भएदिऔं नपाउने भए यो कारणले नपाएको बताइदिनुपर्छ ।” अघिल्लो जनप्रतिनिधिको पालामा दिनुपर्ने राहत अझै नपाएको, घरहरु बनाउन नसकेको कारण अहिले पनि समस्या झेल्नु परेको उनले बताए । यो समस्या समयमा समाधान नभए अझैपछिका जनप्रतिनिधिले पनि नागरिकको मागको सामना गर्नुपर्ने उनको भनाइ छ ।
ढोरपाटनमा एकसय २६ बढी घरपरिवार बाढीपहिरोबाट पीडित थिए । तीमध्ये २० जनाभन्दा कमले मात्रै पुर्ननिर्माणको लागि पहिलो किस्ता लगेका छन् भने घर बनाएकाहरुले पनि राहत नपाएका हुन् । किस्ता लगेकाहरुले पनि मापदण्ड पुरा नगरेकोले दोश्रो किस्ता समेत लगेका छैनन् । त्यस्तो समस्या परेकाहरुबाट राज्यले उल्टै बेरुजु भएकोले सरकारी बाँकी सरह फिर्ता गर्न खोजेपछि स्थानीय झन् चिन्तित छन् ।
अन्य पालिकामा पनि पीडितले समयमा राहत नपाएको, कतिपयको सूचिकरण पनि नभएको गुनासो समेत छ । तमानखोलाका पीडितले अहिले पनि सूचिकृतको बाटो हेरेर बसेको अध्यक्ष जोकलाल बुढाले बताए । तोकेको मापदण्ड पुरा गर्न झन्झट भएपछि जैमिनी नगरपालिकाले घरबार बिहीनलाई आफ्नै नीतिमार्फत साथ दिएर घर बनाउने पहल गरेको उपप्रमुख हरिहर शर्माले बताए ।
बजारमा पछिल्लो समय देखिएको दैनिक उपभोग्य वस्तुको उपलब्धताबारेमा भने सक्दो प्रयास गरेर सहजीकरण गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिए । उनका अनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउने, सदरमुकाममा मात्र नभइ जिल्ला भरीका उपभोक्ताको अवस्था बुझ्ने, साना र ठूला व्यवसायीको गोदाम अनुगमन गरेर जनतालाई समतामूलक रुपमा सामग्रीको उपलब्धता गराउने निर्णय भएको बरालले बताए ।
कार्यक्रममा पेट्रोलियम पदार्थको मूल्यमा भएको घटीबढीलाई लिएर जनतालाई सास्ती दिने काम नगर्न सल्लाह दिने निष्कर्ष निकालिएको बडिगाड गाउँपालिकाकीका अध्यक्ष गण्डकी थापाले बताइन् । बजारमा मूल्य बढाउने, सामान नपाउने जस्ता काममा प्रशासनिक रुपमा सहजीकरण गरिनुपर्ने सुझाव पनि दिइएको उनको भनाइ छ ।
मूल्य बढ्ने र त्यसको तयारी स्वरुप अत्यावश्यक सामान नपाउने अवस्था भैरहेको सरोकारवालाको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सामग्रीको गुणस्तर र आयतनबारे पनि अनुगमन गरिने बताए । “एक लीटर पेट्रोलियम पदार्थ भन्दै गर्दा यकिन छ की छैन भन्ने मापन गर्दैर्छौ” आचार्यले भने, “सामान्यलाग्ने स्थानमै उपभोक्ता ठगिएको पाइएको छ ।” त्यसको प्राविधिकजनशक्तील्याएर पेट्रोलियमपदार्थ, एलपीग्याँस, अन्यउपभोग्य सामाग्री समेतको अनुगमनगरिने भएको उनले बताए ।
सामाग्रीको गुणस्तरमा समेत आमउपभोक्ताहरु सचेत बन्नुपर्ने उनले बताए । मध्यपूर्वमा देखिएको समस्याले दैनिक उपभोग्य सामानमा असर नपरेको र राज्यले पनि त्यस्तो नभनेकोले आमनागरिकलाई ढुक्क हुनसमेत जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला आपूर्ति व्यवस्थापन समितिले आग्रह गरेको हो ।