बागलुङ, २९ फागुन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २५औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम बागलुङलाई आवश्यक सामग्री सहयोग गरिएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको आयोजनामा तथा प्रतिष्ठानका जिल्ला कार्यसमिति बागलुङ र म्याग्दीको सह–आयोजनामा शुक्रबार मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न तथा सरसफाइका अत्यावश्यक सामग्री वितरण गरिएको प्रतिष्ठान बागलुङका अध्यक्ष सरस्वती खड्का परियारले जानकारी दिनुभयो।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका संरक्षक चोलेन्द्र पौडेलले प्रतिष्ठानले गीत–संगीतसँगै सामाजिक क्षेत्रमा पनि योगदान दिँदै आएको बताउनुभयो। कलाकारहरू केवल गीत गाउने मात्र नभई सामाजिक सेवामा पनि सक्रिय हुन आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशकी अध्यक्ष माया गुरुङ तथा प्रतिष्ठान बागलुङकी अध्यक्ष सरस्वती खड्का परियारले कलाकारहरू मानवीय सेवामा समेत संलग्न हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
स्थापना दिवसको अवसरमा आश्रममा आश्रित व्यक्तिहरूका लागि दाल, चाउचाउ, फुरनदाना, टिस्यु पेपर, हार्पिक लगायत खाद्यान्न तथा सरसफाइ सामग्री वितरण गरिएको थियो।
