पोखरा, २९ फागुन
पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म संचालित २५औँ संस्करणको आहा१ रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालिन समयमा खेलाउने प्रयास सफल हुन सकेन । अस्थायी ‘फ्लड लाइट’ राखेर उद्घाटन खेल संचालन गरिएपनि मैदाननमा प्रयाप्त प्रकाश नपुगेका कारण अन्य प्रतियोगिता दिउँसोकै समयमा सार्नुपर्यो ।
आयोजक सहारा क्लब पोखराले पहिलोपटक पोखरामा रात्रिकालीन फुटबलको अनुभव दिलाउन गरेको उक्त प्रयासले अन्तर्राष्ट्रिय स्तरको पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ जडानका लागि सम्बन्धित निकायलाई सकारात्मक दबाब भने पुगेको क्लबको ठहर छ ।
“रात्रिकालीन फुटबल प्रतियोगिता खेलाउन हामीले प्रयास गर्यौँ, तर पहिलोपटक भएका कारण केही प्राविधिक समस्या पनि रहे, खेलाडी र दर्शकबाट प्रकाश नपुगेको गुनासो आयो”, क्लबका अध्यक्ष केशवबहादुर थापाले भन्नुभयो, “निजी क्षेत्रको क्लबले अस्थायी रूपमा भएपनि फ्लड लाइट राखेर प्रतियोगिता संचालनको प्रयास गर्नु आफैमा महत्वपूर्ण छ, यसले राज्यका सम्बन्धित निकायमा पनि सकारात्मक दबाब पुगेको हामीले महसुस गरेका छौँ ।”
उहाँले अन्तराष्ट्रिय स्तरका प्रतियोगिता संचालनका लागि पोखरा रंगशालामा ‘फ्लड लाइट’ अनिवार्य रूपमा राख्नुपर्ने बताउनुभयो । ठूलो धनराशी खर्चेर बनाइएको उक्त रङ्शालामा ‘फ्लड लाइट’ जडानको योजना अझै कार्यान्वयनमा आउन सकेको छैन ।
तत्कालिन भौतिक पुर्वाधार विकास तथा उर्जामन्त्री कुलमान घिसिङले गत मंसिरमा रंगशाला निरीक्षणका क्रममा पनि ‘फ्लड लाइट’ जडानको योजना अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो । “पोखरा रंगशालामा फ्लड लाइट जडानको माग पटकपटक उठ्दै आएको छ, विभिन्न कारण देखाउँदै अहिलसम्म जडान गरिएको छैन”, सहारा क्लबका अध्यक्ष थापाले भन्नुभयो, “अब बन्ने नयाँ सरकारले फ्लड लाइटका लागि योजना र बजेट ल्याउँछ कि आशा गरौँ ।”
खेल क्षेत्रमा रहेको केन्द्रीकृत मानसिकताका कारण पनि राजधानीबाहिर खेल पूर्वाधारको अवस्थामा अपेक्षित सुधार आउन नसकेको उहाँको भनाइ छ । ‘फ्लड लाइट’ नहुँदा पोखरामा रात्रिकालीन खेल गतिविधि सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ९फिफा०को मान्यता पाउन पनि रङ्गशालामा ‘फ्लड लाइट’ अनिवार्य हुनुपर्ने व्यवस्था छ । १६ हजार पाँच सय दर्शक क्षमताको स्तरीय रंगशाला भइकन पनि ‘फ्लड लाइट’ नहुनुलाई खेल क्षेत्रका पदाधिकारी दुस्खद् मान्छन् ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले बजेट अभावमा पोखरा रंगशालामा ‘फ्लड लाइट’ जडान हुन नसकेको जनाएको छ । ‘फ्लड लाइट’का लागि करिब १२ करोडको लागत अनुमान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले केही वर्षअघि ‘फ्लड लाइट’का लागि छुट्टाएको रु। पाँच करोड बजेट कोभिड–१९ महामारीका कारण काम हुन नसकी फिर्ता भएको थियो । देशकै ठूलो र सुविधायुक्त यस रङ्गशालाको सञ्चालन तथा व्यवस्थापनमा सङ्घ र प्रदेश सरकारबीच सहकार्य हुनुपर्ने आवाज खेल क्षेत्रमा उठ्दै आएको छ ।
अन्तर्राष्ट्रिय स्तरको भएर पनि ‘फ्लड लाइट’ नहुँदा पोखरा रङ्गशालाको उपयोगिता खुम्चिएको भन्दै चिन्ता व्यक्त हुने गरेको छ । अन्तराष्ट्रिय स्तरका प्रतियोगिता संचालनका लागि रंगशालामा फ्लड लाइटलगायत अन्तर्राष्ट्रिय मापदण्डका प्रर्वाधार आवश्यक पर्छ । पोखरामा रात्रिकालिन प्रतियोगिता संचालन गर्न सकेमा रङ्गशालाबाट राज्यले पनि लाभ लिने र खेल गतिविधि बढ्दा यहाँको आर्थिक क्षेत्र पनि चलायमन हुने जनाइएको छ ।
साँझ र रात्रिपख खेलकुद प्रतियोगिता संचालन गर्दा जागिरे र कामकाजी मानिसलेसमेत खेलबाट फाइदा लिन सक्नेछन् । प्रतियोगिता मात्रै नभएर रात्रिकालीन खेल अभ्यासका लागि पनि रङ्गशालामा ‘फ्लड लाइट’ अत्यावश्यक रहेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष दिनानाथ बरालले बताउनुभयो । यो विषय उठ्ने गरेपनि राज्यका खेल सम्बद्ध निकायले बेवास्ता गर्ने गरेको उहाँको भनाइ छ ।
तीन वर्षअघि पोखरामा संचालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअघि नै बत्ती जडान गर्ने राखेपको प्रतिबद्धता पनि त्योबेला पूरा हुन सकेन । रु। एक अर्ब २८ करोडको लगानीमा छ वर्षअघि पोखरा रङ्गशाला निर्माण गरिएको थियो । हाल १६ हजार पाँच सय दर्शक क्षमता रहेकामा त्यसलाई बढाएर २० हजार पुर्याउने सरकारको योजना छ ।
