बागलुङ, २८ फागुन
सुर्खेतकी १६ वर्षीया इनिसा विकको हत्या प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्दै प्रवुद्ध युवा समूह बागलुङले बिहीबार बागलुङ बजारको लोकतान्त्रिक चोकमा विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा युवाहरूले “इनिसाको न्याय हाम्रो आवाज”, “पहिला निर्मला अहिले इनिसा, अब सहिँदैन”, “बलात्कारीलाई सजाय देउ”, “पीडितलाई न्याय देउ”, “अपराधीलाई कारबाही गर”, “बलात्कार लुकाउने होइन, रोक्ने हो” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
समिट चोकबाट सुरु भएको विरोध जुलुस बागलुङ बजारका विभिन्न चोक परिक्रमा गर्दै लोकतान्त्रिक चोकमा पुगेर विरोध सभामा परिणत भएको प्रवुद्ध युवा समूह बागलुङका सल्लाहकार दिलिप प्रतेलले जानकारी दिनुभयो।
यसैबीच, युवाहरूले देशभर भइरहेका बलात्कारका घटनाहरूको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न र दोषीलाई कडा सजाय हुने कानुन निर्माण गर्न सांसदहरूसँग माग गरेका छन्। प्रवुद्ध युवा समूहका अध्यक्ष रोहित सुनारले यस्तो माग गरिएको बताउनुभयो।
सामूहिक बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको पोस्टमार्टम रिपोर्ट पनि सार्वजनिक भएको छ। भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा.अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेत पुगेर शव परीक्षण गरेको थियो।
रिपोर्ट अनुसार जबर्जस्ती करणीका क्रममा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हुनसक्ने उल्लेख गरिएको छ।
गत शनिबार वीरेन्द्रनगर–४ स्थित सहिदपार्क नजिकैको जनजागरण सामुदायिक वन क्षेत्रमा विकको बलात्कारपछि हत्या भएको बताइएको छ।