• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

गण्डकीका १५ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

पोखरा, २५ फागुन

गण्डकी प्रदेशका कुल १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये १५ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी बनेका छन् । म्याग्दी, मुस्ताङ र मनाङबाहेकका जिल्लामा रास्वपा उम्मेदवारले जितेका हुन् ।

प्रदेश राजधानी रहेको कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी बनेका छन् । कास्की–१ मा ३९ हजार ८३३ मतसहित खड्कराज पौडेल, कास्की–२ मा ३१ हजार ९११ मत ल्याएर उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ ३७ हजार ७५० मतसहित विजयी बन्नुभएको हो । बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी बनेका छन् । बागलुङ–१ मा सुशील खड्का २० हजार ९२७ र बागलुङ–२ मा सोम शर्मा १२ हजार ६४७ मतसहित विजयी हुनुभएको छ ।

स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार विजयी बनेका छन् । स्याङ्जा–१ मा धनञ्जय रेग्मी र स्याङ्जा–२ मा झविलाल डुम्रे विजयी हुनुभएको छ । रेग्मीले २९ हजार ३१ र डुम्रेले २५ हजार ३३५४ मत प्राप्त गर्नुभएको छ । तनहुँका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले जितेका छन् । तनहुँ–१ मा स्वर्णीम वाग्ले ३८ हजार ४० मतसहित विजयी हुनुभएको छ । तनहुँ–२ मा श्रीराम न्यौपाने ३२ हजार ६८७ मतसहित विजयी बन्नुभएको छ । नवलपुरका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी बनेका छन् ।

नवलपुर–१ मा राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी बन्नुभएको छ । गौतमले ५० हजार ९४५ र खनालले ४१ हजार ३४७ मत प्राप्त गर्नुभएको छ । लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी ३३ हजार ८९८ मतसहित विजयी बन्नुभएको छ । पवर्तमा रास्वपाकै सागर भुसाल २६ हजार ५६१ मतसहित विजयी बन्नुभएको छ । गोरखा–१ मा रास्वपाका सुधन गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी बन्नुभयो । गोरखा–२ मा रास्वपाकै कविन्द्र बुर्लाकोटी २६ हजार ६६० मतसहित विजयी बन्नुभएको हो ।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बन्नुभएको छ । उहाँले २२ हजार ८५० मत प्राप्त गर्नुभएको छ । मुस्ताङमा नेपाली काँग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मत ल्याएर विजयी बन्नुभएको छ । मनाङमा पनि नेपाली काँग्रेसकै टेकबहादुर गुरुङ विजयी बन्नुभएको छ । उहाँले दुई हजार ४१५ मत ल्याउनुभयो । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले गण्डकीका कुनैपनि क्षेत्रमा जित निकाल्न सकेनन् ।