बागलुङ, २४ फागुन
नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १, बागलुङले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा शुभेच्छुकहरूलाई आभार तथा कृतज्ञता व्यक्त गरेको छ
आइतवार निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिका तर्फबाट विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक प्रक्रियामा सहभागी भई मतदान गर्ने सम्पूर्ण मतदातालाई आभार व्यक्त गरिएको हो ।
विज्ञप्तिमा निरन्तर प्रयासका बाबजुद पनि यस निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकिए पनि आम नागरिकले लोकतान्त्रिक मूल्य, मान्यता र प्रक्रियाप्रति देखाएको उत्साहजनक सहभागिता, विश्वास तथा प्रतिबद्धताप्रति उच्च सम्मान व्यक्त गरिएको जनाइएको छ।
निर्वाचन केवल जित–हारको प्रतिस्पर्धा मात्र नभई जनताको अभिमत प्रकट गर्ने महत्वपूर्ण प्रजातान्त्रिक अभ्यास भएको उल्लेख गर्दै प्राप्त जनमतलाई सम्मानपूर्वक ग्रहण गर्दै आगामी दिनमा जनताको सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
साथै विज्ञप्तिमा सम्पूर्ण पार्टीपंक्तिलाई संयमित रहन, अनावश्यक टिप्पणी नगर्न तथा आगामी राजनीतिक यात्राका लागि एकताबद्ध भएर अघि बढ्न आग्रह गरिएको छ।