बागलुङ, २४ फागुन
बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुशील खड्काले जनताको गुनासा सुन्न र प्रत्यक्ष सम्पर्क स्थापित गर्न सचिवालय स्थापना गरेका छन्।
आइतबार बागलुङस्थित आफ्नो निर्वाचन सम्पर्क कार्यालयमै सचिवालय स्थापना गरेका उनले चुनावी प्रतिबद्धताअनुसार जनतासँग प्रत्यक्ष संवाद गर्न तथा जनगुनासा सुन्न सचिवालय स्थापना गरिएको बताए।
स्थापना कार्यक्रममा बोल्दै उनले आफ्ना गुनासा, सुझाव तथा समस्या भए सचिवालयमा आएर जानकारी गराउन सबैलाई आग्रह गरे। साथै उनले भनसुनका काम लिएर आफूकहाँ नआउन पनि अनुरोध गरेका छन्।
सचिवालयमा हालका लागि दुई जना सम्पर्क व्यक्ति राखिएको खड्काले बताए। आफू बागलुङवासीको साझा प्रतिनिधि भएको उल्लेख गर्दै उनले जनताका समस्या समाधानका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।