पोखरा, २४ फागुन
साहित्यिक वृत्तमा परिचित नाम हो गनेस पौडल । खास नाम ‘खडकराज’ भएपनि उनलाई धेरैले गनेस भनेर चिन्छन् । उनी लेखक मात्र नभएर पठन संस्कृतिका प्रवद्र्धकसमेत हुन् । पौडेलको परिचय अब यत्तिमा मात्र सीमित रहेन । प्रतिनिधिसभा सदस्य चुनावमा कास्की–१ बाट जित निकाल्दै उनले आफ्नो पहिलो संसदीय यात्रा तय गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका पौडेलले ३९ हजार आठ सय ८३ मतसहित विजयी बनेका हुन् । पोखरामा बसेर साहित्य लेखन, पठन संस्कृतिको प्रवद्र्धनसँगै सामाजिक मुद्दामा पैरवी गर्दै आएका उनले अन्ततः आफूलाई राजनीतिमा समाहित गरेका हुन् । पोखरा महानगरपालिका–१४ मझेरीपाटनका पौडेलले सक्रिय राजनीतिमा आउन चाहेको भने विसं २०७९ देखि नै हो ।
स्थानीय तहको चुनावलाई निर्दलीय बनाउनुपर्ने एजेण्डासहित विसं २०७९ को स्थानीय तह चुनावमा पौडेल पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका थिए । त्यो बेला ‘लौरो’ चिन्ह लिएर चुनाव लडेका उनले पाँच हजार एक सय २८ मत ल्याएर पराजित हुनुपरेको थियो । पौडेलले दलीय एकाधिकार, भ्रष्टचार र बेथितिविरुद्ध ‘अटेरी अभियान’ सञ्चालन गरेका थिए ।
उक्त स्थानीय चुनावमा पोखरासहित देशका विभिन्न स्थानीय तहमा ‘अटेरी अभियान’का सदस्यले उम्मेदवारी दिएका थिए । स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले प्रतिनिधिसभा सदस्य चुनावमा भने राजनीतिक दलबाटै उम्मेदवार बनेर विजयी बनेका हुन् । रास्वपाका केन्द्रीय सदस्य उनले प्रतिनिधिसभा सदस्यका रुपमा आफूले मतदाताको माग र आकङ्क्षालाई नीतिगत तहबाट सम्बोधन गर्ने बताए । “रास्वपाले अहिले पाएको मत आशाको मत हो, मतदाताले हामीप्रति भरोसा गरेर मत दिएका छन्”, उनले भने, “मतदाताको आशालाई निराशामा बदलिन दिनुहुँदैन ।” पौडेलले ‘जेन्जी’ आन्दोलनमा युवा पुस्ताबाट प्रकट भएको आकङ्क्षालाई लिपिबद्ध गर्न र आन्दोलनका मागलाई नीतिगत तहमा लैजान आफूले भूमिका खेल्ने बताए ।
नीतिनिर्माणसँगै स्थानीय विकासका मुद्दामा प्राथकिता छुट्टाएर काम गर्ने उनको भनाइ छ । पौडेल वातावरण, सम्पदा, कला, संस्कृति संरक्षणको मुद्दालाई पनि विभिन्न माध्यमबाट प्रखर उठाउँदै आएका छन् । विसं २०७४ मा पहिलो उपन्यास कृति ‘पैताला’बाट लेखकका रुपमा उदाएका उनी अखबारी लेखनमा पनि उत्तिकै सिद्धहस्त छन् । विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको पुस्तक ‘अफ् माइस एन्ड मेन’को नेपाली संस्करण ‘मुसा मानुष’ पनि पौडेलद्वारा अनुदित कृति हो ।
पौडेलले पोखरामा पठन संस्कृतिको विकासका लागि स्थापित ¥यान्डम रिडर्स सोसाइटी अफ् नेपालकाका परिकल्पनाकारसमेत हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रका नागरिकका सरोकारका विषय उठानमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । विसं २०३६ मा पोखरा महानगरपालिका–१४ मझेरीपाटनमा जन्मेका पौडेलले पोखरा विश्वविद्यालयबाट एमबीए र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन् ।
उनीसँग शिक्षण पेसाकोसमेत अनुभव छ । साहित्य लेखनसँगै सामाजिक अभियानमा आफूलाई क्रियाशील बनाएका पौडेलसँग प्रतिनिधिसभा सदस्यको नयाँ जिम्मेवारी थपिएको छ । कानुन र नीति निर्माणसँगै मतदाताका माग र अपेक्षा पूरा गर्नुपर्ने दायित्व उनीसामु छ । कास्की–१ मा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका तिलक रानाभाटले ११ हजार २१४, नेकपा (एमाले)का वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ र नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले दुई हजार चार सय ७९ मत ल्याएका छन् । विजयी उम्मेदवार पौडेलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा धन्यवाद सभा गरिरहेका छन् ।