बागलुङ, २३ फागुन
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएका छन्। उनले १२ हजार ६४७ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई पराजित गरेका हुन्।
अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका पौडेलले ११ हजार ६६८ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेकी उम्मेदवार मञ्जु चालिसेले ७ हजार ८६४ मत प्राप्त गरेकी छन्।
अन्य उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीले ५६४, जनता समाजवादी पार्टीले ३१५, राष्ट्रिय प्रजातन्त्र पार्टीले २४३, नेशनल रिपब्लिक नेपालले १९७, (नेकपा माओवादी) ले ७९, नेपाल मानववादी पार्टीले ७६, प्रलोपा पार्टीले ४३ र मंगोल नेशनल अर्गनाइजेसनले २१ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा कुल ९५ हजार ३५३ मतदाता रहेकामा ४७ हजार ५४७ मत खसेको थियो। कडा प्रतिस्पर्धाका बीच राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शर्माले बाजी मार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।