बागलुङ, २१ फागुन
प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत बागलुङमा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ।
आज बिहान ७ बजेदेखि जिल्लाभरका सबै मतदान केन्द्रमा मतदान कार्य सुरु भएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो।
मतदाताले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन्। निर्वाचन आयोग नेपाल ले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी तथा लालपुर्जा जस्ता आधिकारिक कागजात देखाएर मतदान गर्न पाइने जनाएको छ।
निर्वाचन शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकाय परिचालन गरिएको छ भने सबै मतदान केन्द्रमा आवश्यक व्यवस्था मिलाइएको जनाइएको छ।