बागलुङ, २० फागुन
बागलुङमा बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । मतदान केन्द्र निर्माणदेखि सबै व्यवस्थापकीय तयारी सकिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य सञ्चालन हुने उनको भनाइ छ । “सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्, मतदान केन्द्र निर्माणको काम सकिएको छ”, रिजालले भने, “मतदानको लागि सबै तम्तयारी अवस्थामा रहेका छन् ।”
मतदानसँगै मतपत्र ढुवानी र मतगणना तयारीको काम पनि भइरहेको उनले बताए । बागलुङ–१ को मतगणना जिल्ला समन्वय समिति र बागलुङ–२ को नयाँ सहर आयोजना कार्यालयमा मतगणना हुने जनाइएको छ । मतगणनास्थलमा तारजाली र सिसीक्यामेरा जडान गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्लामा सुरक्षा व्यवस्था पनि चुस्त पारिएको छ । निर्वाचन लक्षित सुरक्षा तयारी पूरा भएको जिल्ला निर्वाचन सुरक्षा कमाण्ड पोष्टले जनाएको छ ।
एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी सुरक्षा विश्लेषणसहित आवश्यक रणनीति तयार गरिएको जनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति निर्वाचनको सुरक्षामा खटिएको छ ।
नेपाल प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिने जनाइएको छ । नेपाली प्रहरीसँगै निर्वाचन प्रहरी पनि पहिलो तहको सुरक्षा घेरामा परिचालित हुनेछ । दोस्रो तहको सुरक्षा घेरामा सशत्र प्रहरी बल र सुरक्षा घेराको बाहिरी तहबाट नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ ।