बागलुङ, १८ फागुन
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने आचारसंहिताअनुसार सबै प्रकारका चुनावी प्रचार–प्रसार पूर्ण रूपमा निषेध गरिएको छ।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा–सम्मेलन, कार्यशाला तथा प्रचारात्मक कार्यक्रम गर्न पाइँदैन। मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न तथा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य सञ्चार माध्यममार्फत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर वा प्रसारण गर्न नपाइने जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए ।
निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन मौन अवधिको कडाइका साथ पालना गर्न जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयले सबै सरोकारवालासँग अपिल गरेका छन्। नियम उल्लंघन गरेको पाइएमा कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।