• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

बागलुङ-१ का प्रलोपा उम्मेदवार सापकोटाको उम्मेदवारी निष्कृय

बागलुङ, १८ फागुन
प्रगतिशील लोकतान्त्रिक पार्टी बागलुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा बागलुङ क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार चित्र प्रसाद सापकोटाको उम्मेदवारी निष्क्रिय गरिएको जनाएको छ।

पार्टीको जिल्ला समन्वय समितिद्वारा जारी विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्था, अस्थिरता तथा शासन व्यवस्थामा देखिएका समस्यालाई मध्यनजर गर्दै वैकल्पिक राजनीतिक शक्तिको रूपमा अघि बढ्ने उल्लेख गरिएको छ। पार्टीले लोकतन्त्रको सुदृढीकरण, सुशासन, समृद्धि र राष्ट्रिय स्वाधीनताको पक्षमा आफ्नो एजेन्डा अघि सारेको जनाएको छ।

विज्ञप्तिअनुसार निर्वाचन प्रचार–प्रसारको सिलसिलामा दलबीचको समन्वय तथा मतदाताको मनोविज्ञानका आधारमा प्रत्यक्षतर्फको उम्मेदवारी निष्क्रिय गर्ने निर्णय गरिएको हो। यद्यपि, समानुपातिकतर्फ भने पार्टीको ‘आँखा’ चुनाव चिन्हमा मतदान गर्न सम्पूर्ण मतदातासमक्ष अपिल गरिएको छ।

पार्टीले लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा राष्ट्रिय हितका लागि यस निर्णय गरिएको स्पष्ट पार्दै मतदातालाई विवेकपूर्ण ढंगले मतदान गर्न आग्रह गरेको छ। विज्ञप्तिमा लोकतन्त्रको आधारशिला जनताको अभिमत भएकाले आफ्नो समर्थन र सहभागिताबाट पार्टीलाई सशक्त बनाउन अनुरोध गरिएको छ।

विज्ञप्तिमा जिल्ला अध्यक्ष कृष्ण शर्मा र प्रत्यक्षतर्फका उम्मेदवार चित्र प्रसाद सापकोटाको हस्ताक्षर रहेको छ।