बागलुङ, १५ फागुन
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले चुनावपछि बन्ने सरकारको नेतृत्वमा नेपाली काँग्रेस पुगेमा सबै भ्रष्टचार काण्डको छानबिन हुने बताएका छन् । नेपाली काँगेसद्वारा शुक्रबार बागलुङमा आयोजित चुनावी सभामा उनले सबै पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।
“नेपाली काँग्रेसकै शेरबहादुर देउवा, गगनकुमार थापाबाट सम्पत्ति छानबिन सुरु हुन्छ, एकएक काण्डको छानबिन गर्छौँ, राजनीतिलाई सफा बनाउँछौँ, प्रदूषणमुक्त बनाउँछौँ”, उनले भने, “आगामी पाँच वर्ष प्रगति र सुशासनको हुनेछ, त्यसको सङ्कल्प नेपाली काँगेसले लिएको छ ।”
सभापति थापाले विकासको गति बढाउन नीतिगत सुधार चाहिएको बताए । उनले विकास आयोजनामा भइरहेको ढिलासुस्ती रोक्न विद्यमान ४१ कानुन बदल्नुपर्ने आवश्यकता रहेको बताए । सुधार गर्नुपर्ने कानुनका विषयमा सात वर्षदेखि आफूले गृहकार्य गरेको उनको भनाइ छ ।
उनले अहिलेको चुनाव नियमित नभई विशेष परिस्थिति र प्रयोजनका लागि भएको बताए । “दर्जनौँ युवाको हत्या र सार्वजनिक सम्पत्तिमा भएको विध्वसंपछि यो चुनाव हुन लागेको छ”, सभापति थापाले भने, “यो चुनावमा आन्दोलनमा कोख रित्ताएका आमाले पनि जित्नुपर्छ, हामी सबैले जित्नुपर्छ, देशले जित्नुपर्छ ।” उनले जेन्जी आन्दोलनलाई बागलुङमा शान्तिपूर्ण बनाएकामा नवयुवाहरुको प्रशंसा गरे ।
उनले बागलुङ–१ का काँग्रस उम्मेदवार भीम श्रीस र २ का उम्मेदवार टेकराज पौडेलले युवाहरुको प्रतिनिधिका रुपमा चुनावमा होमिएको बताए । सभापति थापाले कार्यकर्तालाई सामाजिक सञ्जालमा मात्र नभुली मतदाताको घरघरमा गएर सम्बाद गर्न र मत माग्न आग्रह गरे । काँग्रेस सुधारिएर आएको भन्दै उनले काँग्रेसलाई भोट नदिनुपर्ने कुनै कारण नरहेको बताए ।