बागलुङ, १५ फागुन
बागलुङको ताराखोला गाउँपालिका–२, अर्गल, सिले घर भई हाल रोजगारीको सिलसिलामा जापानमा रहनुभएका गोपाल सापकोटाको कलेजो सम्बन्धी रोगको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ । ताराखोला समाज जापानको पहलमा संचालित सहयोग अभियानबाट संकलित रकम रू. छ लाख ५८ हजार चार सय सापकोटा र उहाँकी श्रीमती रूपा सोपकोटालाई हस्तान्तरण गरिएको हो ।
समाजका अध्यक्ष डिलबहादुर कँडेल, महासचिव खिम न्यूरे, सचिव विनोद पाण्डेलगायतका उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
४४ वर्षीय सापकोटालाई विगत दुई वर्षदेखि कलेजो सम्बन्धी गम्भीर रोग लागेको थियो ।उहाँको जापानको टोकियो सहरको शिनानोमाची क्षेत्रमा रहेको केइओ विश्वविद्यालय अस्पतालमा उपचार भइरहेको छ।
बुबालाई कलेजो दान दिन उहाँका २३ वर्षीय छोरा ज्ञामनाथ सापकोटा नेपालबाट जापान आइपुगेको समाजका महासचिव खिम न्यूरेले जानकारी दिए ।
गोपाल सापकोटा विगत १३ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा जापानमा बस्दै आउनुभएको छ। उहाँको परिवारमा दुई छोरा र एक छोरी रहेका छन्।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोगका लागि ताराखोला समाज जापानलाई अपिल गरिएको थियो। समाजको पहलमा ११९ जना भन्दा बढी सहयोगदाताहरूको सहयोगबाट कुल सात लाख सात हजार दुई सय जापानी येन संकलन गरिएको थियो । विदेशमा रहेर पनि नेपाली परिवारका सदस्यको जीवन बचाउन गरिएको यो प्रयास सबैका लागि प्रेरणादायी बनेको छ। उपचार खर्च अझै धेरै लाग्न सक्ने भएकाले समाजले अन्य संघ–संस्थाहरूलाई पनि सहयोगका लागि अपिल गरेको छ।
च्बm ायचधबचमभम बल ष्mबनभ
