बागलुङ, १४ फागुन
शिवशक्ति अटो मोबाइल्सले बजाज कम्पनीको विद्युतीय स्कुटर ‘चेतक’ बागलुङमा भित्राएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित बजाज शो रुममा बिहीबार उक्त विद्युतीय स्कुटर सार्वजनिक गरियो । चेतक बजाज कम्पनीको पहिलो विद्युतीय स्कुटर हो । शिवशक्ति अटो मोबाइल्सका सञ्चालक शिवशङ्कर शाहले गण्डकी प्रदेशमै पहिलोपटक विद्युतीय स्कुटर चेतकलाई ‘लन्च’ गरिएको बताए ।
उक्त स्कुटरको लन्चिङ अफर मूल्य रु. तीन लाख २४ हजार नौ सय रहेको उनले जानकारी दिए । स्कुटरको वास्तविक मूल्य भने रु. तीन लाख ३९ हजार नौ सय रहेको छ । स्कुटर एकपटक फुल जार्च गरेपछि एक सय ३० किमिसम्म गुड्ने उनले बताए । नेपालका विभिन्न भू–भागमा सफल परीक्षण गरेर स्कुटर लन्च गरिएको शाहले जानकारी दिए ।
स्कुटरको विशेषताबारे जानकारी दिँदै शिवशक्ति अटोमोबाइल्सका प्रबन्ध निर्देशक रोहित शाहले चेतकमा ३.५ किलोवाट क्षमताको ब्याट्री प्रयोग भएको बताए । स्कुटरमा स्कुटरमा टीएफटी टच स्क्रीन डिस्प्ले, स्मार्ट कनेक्ट फिचर, म्युजिक कन्ट्रोल, म्याप जस्ता फिचर रहेको उनले बताए । स्कुटरको ब्याट्री फुल चार्ज हुन चार घण्टा लाग्ने जनाइएको छ । तीन घण्टामा ८० प्रतिशत ब्याट्री चार्ज हुन्छ ।
इन्धनबाट चल्ने स्कुटरको तुलनामा चेतक किन्ने ग्राहकले वार्षिक रु. ६१ हजारभन्दा बढी बचत गर्न सक्नेछन् । स्कुटर सार्वजनिक कार्यक्रममा धवलागिरि अटोमोबाइल्स व्यवसायी सङ्घका अध्यक्ष चित्रबहादुर केसीलगायतको उपस्थिति रहेको थियो ।
