• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

निर्वाचन रिपोर्टिङ र आचारसहिंताबारे पत्रकारलाई अभिमुखीकरण

पोखरा, १४ फागन

निर्वाचनका बेला पत्रकारितालाई थप जिम्मेवार र मर्यादित बनाउन गण्डकी प्रदेशका पत्रकारलाई निर्वाचन रिर्पोर्टिङ र पत्रकार आचारसहिंताका विषयमा अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासङ्घद्वारा बुधबार पोखरामा आयोजित उक्त अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

निर्वाचनको पारदर्शिताका लागि पत्रकारले सूचनाको पहुँच र व्यापकता वृद्धिमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । “निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमार्फत मिथ्या र भ्रामक सूचना प्रवाह भइरहेकाले त्यसलाई चिर्दै सत्यतथ्य सूचना नागरिकसामु पु¥याउने दायित्व आमसञ्चार माध्यम र पत्रकारको हो”, मुख्य निर्वाचन अधिकृत बेल्बासेले भन्नुभयो, “लोकतन्त्रको आधारशिला निर्वाचन भएकाले यसलाई हामी सबै मिलेर सफल पार्नुपर्छ ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले निर्वाचन आचारसहिंता पालनामा पत्रकार सजग हुनुपर्ने धारणा राख्नुभयो । आचारसहिंता पालनाको विषय पेशागत मर्यादासँग जोडिएको विषय भएकाले यसको उल्लङ्घन हुँदा पत्रकारको पेशा नै सङ्कटमा पर्ने उहाँको भनाइ छ । अध्यक्ष शर्माले पत्रकारले समाचार लेख्दा जहिल्यै सत्यतथ्य, सन्तुलित र विश्वसनीयतालाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारलाई निर्वाचनका अवधिमा रिपोर्टिङका लागि सहज पहुँच दिलाउन निर्वाचन आयोगलगायत सम्बद्ध निकायमा समन्वय भइरहेको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले निर्वाचनका बेला सञ्चारमाध्यम र पत्रकारबाट भएका आचारसहिंता उल्लङ्घनका घटनामा परेका उजुरीको छानबिन गरी सम्बन्धित पक्षलाई स्पष्टीकरण सोधिएको बताउनुभयो । पत्रकारहरुले सामाजिक सञ्जालमार्फत पनि आचारसहिंता विपरीत गतिविधि गरेको भन्दै काउन्सिलमा उजुरी र गुनासो आउने क्रम बढेको उहाँको भनाइ छ । “आचासहिंता उल्लङ्घनका घटनामा काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर कारबाहीको प्रकृया अगाडि बढाएको छ”, सदस्य लामिछानेले भन्नुभयो ।

प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख नारायण ढकालले समाचार सङ्कलनमा पत्रकारलाई मतदानस्थलमा सहज पहुँचको व्यवस्था गरिने बताउनुभयो । निर्वाचनको स्वच्छता र पारदर्शिताका लागि पत्रकार र आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ । प्रदेशका ११ वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको र निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिई मतदानस्थलमा खटाउने तयारी भइरहेको प्रमुख ढकालले बताउनुभयो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष शर्मा र सचिव प्रकाश धौलाकोटीले निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसहिंताका विषयमा सहजीकरण गर्नुभएको थियो । पत्रकार सँधै आचारसहिंतामा बस्नुपर्ने भएपनि निर्वाचनका बेला रिपोर्टिङ गर्दा पत्रकारले थप संवेदनशीलता अपाउनुपर्ने सचिव धौलाकोटीले बताउनुभयो । कार्यक्रममा सामाजिक सञ्जालको सही प्रयोगका सम्बन्धमा पनि पत्रकारलाई अभिमुखीकरण गरिएको थियो ।

सहभागी पत्रकारले आचारसहिंतालगायत विषयमा समूहगत अभ्यास गरी प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा पोखरामा क्रियाशील पत्रकारसहित महासङ्घका प्रदेश र जिल्ला शाखाका अध्यक्ष, पदाधिकारीलगायतको सहभागिता रहेको थियो । महासङ्घले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।