• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

बागलुङ नगरपालिकामा ‘एचपिभी’ खोप अभियान सुरु

बागलुङ, १० फागुन

बागलुङ नगरपालिकामा आइतरबारदेखि पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘एचपिभी’ खोप अभियान सुरु भएको छ । अभियान अन्र्तगत आइतबार नगरपालिका भित्रका १४ वटै वडाका विभिन्न विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रालाइ खोप लगाइएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । बानपा खोप अभियान केही दिनसम्म चल्नेछ । जिल्लाका अन्य स्थानीय तहमा फागुन १ गते देखि अभियान संचालन भएको थियो ।

जिल्लाका कक्षा ६ मा अध्यनरत दुई हजार दुई सय ९१ जना र विद्यालय बाहिर रहेका ११ जना गरी कुल दुई हजार तीन सय दुई जना किशोरीलाई यो खोप प्रदान गर्न लागिएको प्रदेश जनस्वाथ्य कार्यालय, बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए ।

जिल्लाका दस वटै स्थानीय तहका विद्यालय र विभिन्न खोप केन्द्रमा छुट्टाछुट्टै मितिमा खोप अभियान संचालन गरिएको छ । छ कक्षाको पढाइ हुने जिल्लाका सबै विद्यालय, सामुदायिक खोप केन्द्र गरी कुल दुई सय ९७ वटा खोप केन्द्रबाट किशोरीहरूलाई खोप प्रदान गरिदै छ । खोप संचालनका लागि दुई सय ९७ जना स्वास्थ्यकर्मी र सोही संख्यामा स्वयंसेवक खटिएका छन् ।

गत वर्ष खोप लगाउन छुटेका किशोरीलाई पनि खोप प्रदान गरिने खोप सुपरभाइजर खत्रीले बताए । “एचपिभी खोप यस वर्षदेखि नियमित खोप कार्यक्रममा समावेश भएको छ”, उनले भने “६ कक्षामा अध्ययनरत किशोरी र यदि कोही विद्यालय बाहिर रहेको भए १० वर्ष उमेर पुगेको किशोरीलाई यो खोप लगाइन्छ ।”
गत वर्ष कक्षा ६ देखि १० कक्षा सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षभित्रका किशोरी गरी कुल ११ हजार एक सय ७७ जनालाई यो खोप प्रदान गरिएको थियो । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने स्वास्थ्यकर्मी बताउँछन् ।