बागलुङ, ९ फागुन
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील खड्काले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। प्रतिबद्धता पत्रमा सुशासन, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। शनिवार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर खड्काले आफ्नो निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
खड्काले डिजिटल सुशासनमार्फत भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य लिएको उल्लेख गरेका छन्। सरकारी सेवालाई छिटो, पारदर्शी र पूर्ण रूपमा डिजिटल बनाइने, बजेट तथा अनुदान वितरण प्रणालीलाई खुला र तथ्यांकमा आधारित बनाइने प्रतिवद्धतामा समावेश गरेका छन् ।
प्रतिबद्धता पत्रमा रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै सीप र क्षमताका आधारमा अवसर सुनिश्चित गर्ने, वैदेशिक पलायन न्यूनीकरण गर्ने र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने योजना अघि सारिएको छ। कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, पूर्वाधार, फोहोर व्यवस्थापन र सेवा क्षेत्रमा लगानी वृद्धि गरी युवालक्षित रोजगारी सिर्जना गरिने प्रतिबद्धता जनाइएको छ।
शिक्षातर्फ बागलुङलाई गुणस्तरीय विद्यालय शिक्षा र आयमूलक प्राविधिक शिक्षाको हब बनाउने लक्ष्य राखिएको छ। सामुदायिक विद्यालयको शिक्षालाई प्रविधिमैत्री र सीपमूलक बनाउने, उच्च शिक्षालाई पहुँचयोग्य बनाउने योजना उल्लेख गरिएको छ। आधारभूत स्वास्थ्य सेवा सुदृढ गर्ने, स्वास्थ्य बीमा प्रभावकारी बनाउने, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने र आकस्मिक सेवाको विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ।
पर्यटन प्रवर्द्धनका निम्ति ब्राण्ड बागलुङ स्थापित गरि अनुभव, प्रकृतिमा आधारित साहसिक पर्यटन प्रवर्द्धन गर्ने, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ। यसैगरी, “राम्रो समाज निर्माण” अभियानअन्तर्गत युवा, महिला, दलित, ज्येष्ठ नागरिक तथा अल्पसंख्यक समुदायको समान पहुँच र सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता खड्काले प्रतिवद्धतामा व्यक्त गरेका छन्।
खड्काले बागलुङमा सांसद सचिवालय स्थापना गरी जनतासँग प्रत्यक्ष अन्तरक्रिया, गुनासो सुनुवाइ र नीति संवाद सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेका छन्।