• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

यी हुन् बागलुङ–१ का एमाले उम्मेदवार हिरा केसीका प्रतिबद्धता

बागलुङ,९ फागुन

बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हिराबहादुर केसीले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै शनिवार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा उनले बागलुङ क्षेत्र नं. १ को विकास र समृद्धिका लागि भन्दै विभिन्न बुँदामा आफ्ना प्रतिबद्धता पत्र सार्वजानिक गरेका हुन् । उनले शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

पूर्वाधार विकासअन्तर्गत बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई जोड्ने निर्माणाधीन चक्रपथलाई विशेष प्राथमिकताका साथ कालोपत्रे गरी सम्पन्न गर्ने उनले उल्लेख गरेका छन्। साथै अछेते – गलकोट सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन, बागलुङ नगरभित्र कम्तीमा एक हजार जना अट्ने क्षमताको सुविधा सम्पन्न सिटी हल निर्माण गर्ने तथा प्रत्येक गाउँपालिका र नगरपालिकामा कम्तीमा पाँच सय जना अट्ने सामुदायिक भवन निर्माण गर्ने योजना उनले अघि सारेका छन्।

धौलागिरि बहुमुखि क्याम्पसलाई नयाँ र प्राविधिक विषय पढाइ हुने गरी विश्वविद्यालयमा परिणत गर्ने, सम्बन्धन प्राप्त अन्य क्याम्पसको स्तरोन्नती गर्ने र हरेक पालिकामा कम्तिमा एकएक वटासम्म स्नातक तहसम्म अध्ययन गर्ने क्याम्पस स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । धौलागिरि प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नति, जेष्ठ नागरिकको निःशुल्क स्वास्थय परीक्षण, शिशु स्याहार केन्द्र स्थापना, फोहोरमैलाको उचित व्यवस्थापनलगायतका विषय पनि समावेश गरिएको छ ।

युवा तथा खेलकुद क्षेत्रतर्फ भदौ चौबिस र पच्चिस गतेको प्रदर्शनका क्रममा युवाले उठाएका मागहरूको भावनालाई आत्मसात गर्दै उनीहरूसँग थप अन्तरक्रिया गरी आवश्यक मागहरूलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। पर्यटन प्रवर्द्धनका लागि बागलुङ बजार, बलेवा विमानस्थल, भैरवथान मन्दिर, मुलाबारी, भकुण्डे राइडाँडाको धुरी, तित्याङ सिगाना बौद्धचौर, लेखानीलगायत क्षेत्रसम्म साइकल मार्गसहित आवश्यक पूर्वाधार निर्माण गर्ने योजना उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । । साथै प्राकृतिक पर्यटकीय स्थलहरूमा जंगल सफारी, चट्टान आरोहण, जलयात्रा, ढुंगा सयर, बन्जी जम्प, प्याराग्लाइडिङ, घोडा यात्रा लगायत गतिविधि सञ्चालनमा जोड दिइने उल्लेख छ।

कृषिजन्य उत्पादन वृद्धिका लागि किसानलाई प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गरिने ,गरिब तथा विपन्न नागरिकलाई सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्ने नीतिगत व्यवस्था मिलाउने र समस्याग्रस्त सहकारीका पिडिललाई बचत रकम फिर्ता गराउन पहल गर्ने पनि उल्लेख गरिएको छ । केसीको प्रतिबद्धता पत्रमा सामुदायिक वनको दिगो व्यवस्थापनमार्फत रोजगारी सिर्जना, वनमा आधारित उद्योग स्थापना तथा संरक्षण पनि समेटिएको छ ।

सुशासन तथा पारदर्शिताका सन्दर्भमा नगरपालिका तथा गाउँपालिकाको सेवा प्रणालीलाई पूर्ण पारदर्शी बनाइने र सबै निकायलाई आफूले प्रदान गर्ने सेवाप्रति उत्तरदायी बनाउने प्रणालीको विकास पनि प्रतिबद्धता पत्रमा समावेश गरिएको छ ।