• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday
  • Unicode Converter

जेसीजको प्रत्यक्ष सम्वादमा बागलुङ–१ का उम्मेदवारले के भने ?

बागलुङ, ५ फागुन

बागलुङ–१ का उम्मेदवारले मंगलबार नागरिकसँग प्रत्यक्ष सम्वाद गरेका छन् । बागलुङ जेसीजले आयोजना गरेको सम्वाद कार्यक्रममा उनीहरूले आफ्ना चुनावी मुद्दा र प्रतिबद्धता सुनाएका हुन् । नागरिकका प्रश्नको जवाफमा उम्मेदवारहरूले आफू निर्वाचित भएमा नीतिनिर्माण र विकास अभियानमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर श्रीषले भ्रष्टाचार उन्मुलन र सुशासन कायम गर्नका लागि आफुले काम गर्ने बताए ।उनले स्थानीय उत्पादनको बजारीकरण र किसानका समस्या समाधानका लागि योजनासहित काम गर्ने बताए । भाषा, कला, संस्कृतिको जगेर्ना र राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्नका लागि आफुले पहल गर्ने बताए ।

एमालेका उम्मेदवार हिराबहादुर केसीले आफ्नो जीवनको लक्ष्य नै जनताको सेवा गर्ने रहेको बताए । उनले विकास निर्माणमा अगुवाई गर्न र जनताका सामाजिक, आर्थिक समस्याको समाधानका लागि सेवा गर्ने संकल्पका साथ आफू अगाडि बढेको बताए । आफ्नो दलले पटक(पटक विश्वास गरेर अगाडि सारेपनि आफू जनताबाट अनुमोदित हुन नसकेको भन्दै केसीले आफू निरन्तर जनताको सेवामा लागिरहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील खड्काले हरित विकास मार्फत रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए । उनले यसअघि गरेको हिमाल सफाइको अभियान र वातावरणको क्षेत्रमा पनि युवालाई रोजगारी दिने, अलपत्र विकासलाई गति दिन अगुवाई गर्ने बताए । उनले पुराना दलले काम नगरेकोले भ्रष्टाचार बढेकोसमेत टिप्पणी गरे ।

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार कृष्ण अधिकारीले सुशासनका लागि निगरानी नै पहिलो जिम्मेवारी बन्ने बताए । राप्रपाका उम्मेदवार कल्याण आचार्यले हिन्दु धर्म र राजसंस्थाका लागि अगुवाई गर्ने धारणा राखे । नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसीले जनयुद्दका लक्ष्य पूरा गर्ने काममा लाग्ने बताए ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार चित्र सापकोटाले परिवर्तनका लागि युवाहरु गोलबद्द गर्ने र विकास तथा सुशासनका क्षेत्रमा काम गर्ने बताए । मानवतावादी पार्टीका उम्मेदवार भक्तबहादुर विकले सामाजिक न्यायका लागि लड्ने बताए । बागलुङ जेसीजका अध्यक्ष अन्जिला श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन जेसीजकर्मी एवं पत्रकार ताराप्रशाद शर्माले गरेका थिए ।