बागलुङ, ५ फागुन
निर्वाचन प्रचारप्रसार गर्दा आचारसंहिताभित्र रहेर काम गर्नुपर्नेमा जोड दिइएको छ । जिल्ला निर्वाचन कार्यालय, बागलुङद्वारा मंगलबार आयोजित कार्यक्रममा राजनीतिक दललगायतले निर्वाचन आचारसंहिता पालनामा जोड दिएका हुन् । निर्वाचन आचारसंहिता सम्बन्धी उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सबैले अनिवार्य रूपमा आचारसंहिता पालना गर्नुपर्ने बताए।
उनले आम मतदाता, राजनीतिक दल, उम्मेदवार, कर्मचारी, पत्रकार, सरकारी तथा गैरसरकारी संस्था र व्यवसायी सबैमा आचारसंहिता लागू हुने स्पष्ट पारे। प्रमुख जिल्ला अधिकारी आचार्यले आचारसंहिता विपरीत कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने र उम्मेदवारले उल्लङ्घन गरेमा उम्मेदवारी रद्द हुन सक्ने कानुनी प्रावधान रहेको जानकारी दिए।
सामाजिक सञ्जाललगायतका माध्यमबाट बढी आचारसंहिता उल्लङ्घन भइरहेको उल्लेख गर्दै यसको प्रभावकारी अनुगमनका लागि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले विशेष ध्यान दिनुपर्ने सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले निर्वाचन आचारसंहिताको आवश्यकता तथा निर्वाचन अवधिमा गर्न मिल्ने र नमिल्ने कार्यबारे प्रस्तुतीकरण गरेका थिए। उनले प्रचारप्रसार गर्दा वातावरणमैत्री र प्रदूषण नियन्त्रणमा योगदान पुग्ने गरी गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए।
बागलुङ निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत भीम सुवेदीले हालसम्म लिखित उजुरी नआएको र मौखिक उजुरीका विषयमा सम्झाइबुझाइ गरिएको जानकारी दिए। उनले निर्वाचन आचारसंहिता स्वयंले आत्मसात् गर्नुपर्ने विषय भएकाले सबै सम्बन्धित पक्ष सजग हुनुपर्ने बताए।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति जित शेरचनसहित राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, पत्रकार लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सहायक निर्वाचन अधिकृत पूर्ण शर्माको सञ्चालन र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।