बागलुङ, ३ फागुन
महाशिवरात्रि पर्वका अवसरमा आइतबार बागलुङमा आध्यात्मिक रहस्योद्घाटन तथा शिवध्वजारहण कार्यक्रम सम्पन्न भएको छ । ब्रह्माकुमारी ईश्वरीय विद्यालय, क्षेत्रीय कार्यालय, बागलुङका आयोजनामा भएको उक्त कार्यक्रममा उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधीश दण्डपाणी शर्मा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले महाशिवरात्रि पर्वको धार्मिक र सांस्कृतिक महत्वका बारेमा भनाइ राखेका थिए । कार्यक्रमका सहभागीहरु भगवान शिवको पूजा आराधनामासमेत सहभागी भएका थिए । ओम शान्ति भवनमा आयोजित उक्त कार्यक्रम ब्रह्माकुमारी ईश्वरीय विद्यालय, क्षेत्रीय कार्यालयका प्रमुख सावित्री दिदीको अध्यक्षता र ब्रह्माकुमारी गीताको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त विद्यालयले बर्सेनि महाशिवरात्रि पर्वलाई विशेष रुपमा मनाउँदै आएको छ ।
यससँगै महाशिवरात्रि पर्वका अवसरमा बागलुङका शिव मन्दिरमा आइतबार बिहानैदेखि भक्तजनको भीड लागेको छ । बागलुङ नगरपालिका–४ स्थित गौरीधाम शिव मन्दिरलगायतका जिल्लाका विभिन्न शिवालय धाम तथा मन्दिरमा भक्तजनको भीड लागेको हो । गौरीधाम शिव मन्दिरमा १० हजारभन्दा बढी भक्तजनले पूजाआजा गर्ने अनुमान गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण केसीले बताए ।
“बिहानैदेखि भक्तजनको लाम लागेको छ, चार जना पूजारीलाई पूजा चलाउन भ्याइनभ्याइ छ”, उनले भने, “आज रातिसम्मकै मन्दिरमा चहलपहल हुन्छ ।” मन्दिरमा भजनकीर्तन पनि सञ्चालन भइरहेको अध्यक्ष शर्माले बताए । भक्तजनको सहजताका लागि सुरक्षालगायत पूजा व्यवस्थापन चुस्त बनाइएको उनको भनाइ छ । महाशिवरात्रिलाई लक्षित गरी मन्दिर परिसमार नेपाली सेना र बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाबाट आकस्मिक स्वास्थ्य सेवा पनि प्रदान गरिएको छ ।
हिन्दु धर्मवालम्बीहरुको महाशिवरात्रि पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् । शिवरात्रिको दिनमा भगवान शिवको पूजाआजा भजनकीर्तन गर्ने, उपवास बसेमा मनको कामना पूरा हुने जनविश्वास रहँदै आएको छ।