बागलुङ, १ फागुन
यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रुपमा कम छ जति विसं २०७९ को चुनावमा थियो । नेपाली राजनीतिमा बेग्लै छवि बनाउनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष वयोवृद्ध चित्रबहादुर केसी अघिल्लो चुनावमा उम्मेदवार हुनुहुन्थ्यो । नेकपा ९एमाले०का उम्मेदवार छोरा पुस्ताका सूर्यप्रसाद पाठकसँग केसी आमनेसामने हुँदा यस क्षेत्रले धेरैको ध्यान खिचेको थियो ।
उक्त चुनावमा पाठकलाई पराजित गर्दै केसीले आफ्नो संसदीय विरासतलाई कायम राख्न सफल हुनुभएको थियो । अहिलेको चुनावमा भने दुवै उम्मेदवार प्रतिस्पर्धाबाट बाहिर हुनुहुन्छ । केसीलाई राष्ट्रिय जनमोर्चाले समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । नेकपा ९एमाले०बाट हिराबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ । विसं २०७९ को चुनावमा पाँच दलीय गठबन्धनमा सामेल भई राष्ट्रिय जनमोर्चाका केसीलाई जिताउन भूमिका खेलेको नेपाली काँग्रेस पनि अहिले एक्लै चुनावमा होमिएको छ ।
काँग्रेसबाट भिम श्रीस चुनावी मैदानमा हुनुहुन्छ । अघिल्लो चुनावमा एउटै गठबन्धनमा रहेका नेपाली कम्युनिष्ट पार्टी र राजमोले अहिले पनि चुनावी सहकार्यलाई दोहोराएका छन् । बागलुङ–१ मा दुवै दलको साझा उम्मेदवारका रुपमा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी र बागलुङ–२ मा नेपाली कयुनिष्ट पार्टीका ज्ञामनाथ गैरे ‘अनिल’ चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ । हिजो एउटै चुनावी मोर्चामा रहेका दलहरु अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् ।
गत चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक्लै चुनावी मैदानमा उत्रेको छ । रास्वपाबाट बागलुङ–१ मा सुशील खड्का उम्मेदवार हुनुहुन्छ । बागलुङ–१ मा यीनै चार उम्मेदवारबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सम्बन्धित दल र उम्मेदवारले आ–आफ्नै जितको दाबी गरेपनि विगतको चुनावी गणित हेर्दा जुनसुकै दललाई पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज देखिन्न ।
एक्लाएक्लै चुनावमा होमिएका काँग्रेस, एमाले र रास्वपाले आफ्नै बलबुतामा चुनाव जित्ने दाबी गरिरहेका छन् भने नेकपा र जनमोर्चा गठबन्धनको आडमा जित निकाल्ने दाउमा छन् । काँग्रेससहितको पाँच दलीय गठबन्धनबाट अघिल्लो चुनावमा आफ्ना उम्मेदवारलाई विजयी बनाएको राष्ट्रिय जनमोर्चालाई यसपटक नेपाली कम्युनिष्ट पार्टीको मात्र साथ छ । उक्त चुनावमा जनमोर्चाका उम्मेदवार केसीले २१ हजार चार सय ५१ मत ल्याएर विजयी हुनुभएको थियो ।
एक्लै चुनाव लड्दा पनि जम्मा दुई हजार छ सय २६ को मतान्तरले एमाले उम्मेदवार पाठक पराजित हुनुभएको थियो । पाठकको १८ हजार आठ सय २५ मत आएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले नौ हजार एक सय ८१ मत ल्याउनुभएको थियो ।
समानुपातिकतर्फ भने काँग्रेसले सबैभन्दा धेरै १६ हजार चार सय ९३ मत ल्याएको थियो । एमालेले १५ हजार चार सय २८, रास्वपाले सात हजार आठ सय ७७, जनमोर्चाले चार हजार नौ सय ८६, नेकपा ९तत्कालीन नेकपा माओवादी केन्द्र०ले दुई हजार आठ सय ५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २९ र अन्य साना दलले ११ सय ३३ मत ल्याएका थिए ।
विसं २०७९ को चुनावका समानुपातिक मत परिणाम हेर्दा काँग्रेस र एमालेको मतान्तर झण्डै एक हजार देखिन्छ । यी दुवै दलकोभन्दा झण्डै आधा मत रास्वपाले पाएको थियो । जनमोर्चा र नेकपाको मत त्यो भन्दा पनि कम छ । विगतका चुनावको समानुपातिक मत संख्यालाई हेरेर ढुक्क हुने अवस्थामा दलहरु छैनन् । पछिल्लो समय मतदातामा मत बदल्ने प्रवृत्ति बढेका कारण हिजो निश्चित राजनीतिक दलका प्रभाव क्षेत्र भनिएका ठाउँमा मत परिणाम भिन्न आउन सक्ने आँकलन स्वयं दलहरुले नै गरेका छन् ।
यस क्षेत्रको उम्मेदवारमा अहिले अधिकांश नयाँ अनुहार छन् । काँग्रेस उम्मेदवार भीम श्रीस विद्यार्थी राजनीतिबाट उदाएका नेता हुनुहुन्छ । विसं २०६२ मा त्रिभुवन विश्वविद्यालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुनुभएका उहाँ काँग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ जैमिनी नगरपालिका–१० राङखानीका बासिन्दा हुनुहुन्छ । एमालेका हिराबहादुर केसी यस क्षेत्रबाट तेस्रोपटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँ विसं २०७० को दोस्रो संविधानसभा सदस्य चुनावमा नेपाली काँग्रेसका हरिबहादुर खड्कासँग पराजित हुनुभएको थियो ।
विसं २०७९ को प्रदेशसभा सदस्य चुनावमा बागलुङ–१ ९क० मा काँग्रेसका दीपेन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो । काठेखोला गाउँपालिका–३ धम्जा निवासी केसी एमाले, बागलुङको अध्यक्ष हुनुहुन्छ । ससंदीय यात्रा तय गर्ने उहाँको तेस्रोपटकको प्रयास कत्तिको सफल हुने हो त्यो हेर्न बाँकी छ । राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारी पनि पहिलोपटक संसदीय चुनाव सामना गर्दै हुनुहुन्छ । विद्यार्थी राजनीति हुँदै पार्टीमा सक्रिय रहँदै आउनुभएका उहाँ बागलुङ नगरपालिका–१२ अमलाचौर निवासी हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्जिनियर तथा युवा उद्यमी सुशील खड्का चुनावी मैदानमा हुनुहुन्छ । बागलुङ नगरपालिका–३ गुठी निवासी उहाँ बागलुङको राजनीतिमा नयाँ अनुहार हुनुहुन्छ । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्याण विक्रम आचार्य, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, मंगोल नेशनल अर्गनाइजेशनका गुमाकुमारी बुढा राना मगर, नेशनल रिपब्लिक नेपालका सहवीर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ ।
जितहारका श्रृङ्खलाहरुबाट गुज्रिरहेका दलहरु अर्को चुनावी परीक्षामा सामेल हुन अब २० दिन मात्र बाँकी छ । चुनाव नजिकिँदै जाँदा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन् । चुनावी परिणाममा कहिले नेपाली काँग्रेस त कहिले वाम दल हावी हुने बागलुङ–१ को प्रतिस्पर्धामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पनि थपिएको छ ।
विसं २०७० को दोस्रो संविधानसभा सदस्य चुनावमा नेपाली काँग्रेसले जिल्ला सबै क्षेत्रमा जित हाँसिल गरेको थियो । विसं २०७४ को चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र विसं २०७९ को चुनावमा काँग्रेससहितको गठबन्धनले विजयी बनेको थियो । बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका समेटिएको यस क्षेत्रमा ३७ वडा रहेका छन् । ९८ हजार ४६ मतदाता रहेको यस क्षेत्रमा ४८ मतदास्थल रहेका छन् ।