बागलुङ, २८ माघ
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र जोगाउन सबै देशभक्त र वामपन्थी दलहरु मिलेर बृहत् मोर्चा बनाउनुपर्ने बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाद्वारा बुधबार बागलुङमा आयोजित जनसम्वाद तथा भेटघाट कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादी चलखेल र षडयन्त्रका विरुद्ध एकताबद्ध हुन अपिल गरे । संयोजक प्रचण्डले अहिलेको निर्वाचन नियमित र सामान्य नभएको भन्दै देशको वर्तमान असहज स्थितिको निकासका लागि निर्वाचनको विकल्प नरहेको बताए ।
“निर्वाचन फागुन २१ मै हुन्छ, निर्वाचन हुँदैन कि भन्ने भ्रम कसैले नपालौँ”, उनले भने, “सरकार, निर्वाचन आयोग र सुरक्षा निकायसँग मेरो नियमित छलफल र सम्पर्क हुँदा निर्वाचन सर्ने कुनै सम्भावना नरेको मैले पाएको छु, तोकिएकै मितिमा हुन्छ ।” बागलुङ कम्युनिष्ट जनमत बढी भएको जिल्ला रहेको उल्लेख गर्दै संयोजक प्रचण्डले वामपन्थी पार्टीहरुबीचको एकतामा जोड दिए । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिँहसँगै मञ्चमा रहेका प्रचण्डले क्रान्ति र आन्दोलनमा लाग्ने प्रेरणा सिँहबाटै पाएको बताए ।
कार्यक्रममा महामन्त्री सिँहले राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बेला आएको बताए । उनले बागलुङमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच भएको चुनावी गठबन्धनले ऐतिहासिक महत्व राख्ने बताए । कार्यक्रममा बागलुङ निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार कृष्ण अधिकारीलगायतले बोलेका थिए । कार्यक्रममा दुवै दलका जिल्लास्तरीय नेता तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।
