बागलुङ, २७ माघ
मानसिक स्वास्थ्यमा सुधार ल्याउन सके आत्महत्याका घटना न्यूनीकरण गर्न सकिने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले मानसिक स्वास्थ्यका कारण कुनै पनि घटना घट्नुभन्दा अगावै समस्याको पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिए।
मंगलबार बागलुङमा प्रदेश जनस्वास्थ्य कार्यालयको आयोजनामा जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूलाई लक्षित गरी संवेदनशील रिपोर्टिङसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा धौलागिरि प्रादेशिक अस्पतालका सरोजकुमार पंजियारले मानसिक स्वास्थ्य समस्याका कारणहरू तथा जोखिम समूहबारे जानकारी गराएका थिए। उनले मानसिक समस्या भएका व्यक्तिले कुनै न कुनै संकेत दिने भएकाले परिवार, आफन्त तथा साथीभाइले समयमै पहिचान गरी उपचारका लागि सहयोग गर्नुपर्ने बताए।
प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले आर्थिक वर्ष २०८१/८२ मा बागलुङमा ६२ जनाले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरे। तीमध्ये ५६ जनाले झुण्डिएर, २ जनाले विष सेवन गरी र ४ जनाले हाम फालेर आत्महत्या गरेका छन्। चालु आर्थिक वर्षमा हालसम्म २७ जनाले आत्महत्या गरिसकेको उनले जानकारी दिए। जिल्लामध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकाभित्र ७ जनाले आत्महत्या गरेको पाण्डेले बताए। आत्महत्याको दर बढ्दो रहेको उल्लेख गर्दै यसको मुख्य कारण मानसिक स्वास्थ्य समस्या भएको उनको भनाइ थियो।
जनस्वास्थ्य कार्यालय बागलुङका अधिकृत समिता घिमिरेले सञ्चारमाध्यमले संवेदनशील विषयमा रिपोर्टिङ गर्दा अपनाउनुपर्ने सावधानी, प्रयोग गर्न नहुने शब्दहरू तथा समाजमा सकारात्मक सन्देश दिने समाचार कसरी तयार गर्ने भन्ने विषयमा जानकारी दिएकी थिइन्।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत टिकाराम भण्डारीले सञ्चालन गरेको कार्यक्रममा क्षयकुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेले स्वागत मन्तव्य राखेका थिए। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
