• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

ज्ञानोदय बुद्ध बिहारमा महापरित्राण पाठ

बागलुङ, २७ माघ

ज्ञानोदय बुद्ध बिहार, बागलुङको आयोजनामा महापरित्राण पाठ सम्पन्न भएको छ। सोमबार भिक्षु महासंघबाट आएका ३० जना भन्दा बढी भन्तेहरूले महापरित्राण पाठ गरेका हुन्।

पाठ सुरु हुनुअघि भन्ते, गुरुमा, उपासक, उपासिका लगायत बौद्ध धर्मावलम्बीहरूले बजार परिक्रमा गरेका थिए। बुद्धको वाणी जनमानससम्म पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ज्ञानोदय बुद्ध बिहारका अध्यक्ष लिलाम्बर बज्राचार्यले जानकारी दिए। उनले प्राचीन धर्म र संस्कृतिमाथि दिनप्रतिदिन पश्चिमेली संस्कृतिको प्रभाव बढ्दै गएको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि पनि कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रममा भिक्षु महासंघका ३० जना भिक्षुहरूको सहभागिता रहेको थियो। साथै बागलुङ समाज काठमाडौं, शाक्य समाज काठमाडौं, बागलुङ महिला समाज काठमाडौं, विभिन्न संघ–संस्था तथा बौद्ध धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा उपासक–उपासिकाबाट अष्टपरिकार दान गरिएको तथा घर–घरबाट ल्याइएका बुद्धका मूर्तिहरूमा प्राणप्रतिष्ठा गरिएको बुद्ध बिहारका संरक्षक तथा सल्लाहकार मुकुन्द शाक्यले बताए।

कार्यक्रम खर्च व्यवस्थापनका मुख्य दाता सुर्जबहादुर थापा र सुकमाया थापालाई सम्मान गरिएको थियो भने अन्य सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। समितिका सचिव रम्वादेवी शाक्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष लिलाम्बर बज्राचार्यले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने भिक्षु बोधिज्ञानले समग्र कार्यक्रमको जानकारी दिएका थिए।