• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

आचारसहिंताबारे पत्रकारलाई अभिमुखीकरण

बागलुङ, २४ माघ

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा कास्की, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका पत्रकारलाई आचारसहिंतका विषयमा अभिमुखीकरण गरिएको छ । शनिबार म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा आयोजित कार्यक्रममा संसदीय पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष भरत कोइरालाले निर्वाचनका बेलामा पत्रकारले पालना गर्नुपर्ने आचारसहिंताका बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै म्याग्दीका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न प्रेस जगतको महत्वपूर्ण भूमिका हुने बताए । उनले राजनीतिक दलहरुले शान्तिपूर्ण रुपमा निर्वाचन गतिविधि संचालन गरिरहेको भन्दै जिल्लामा अहिलेसम्म कुनै आचारसहिंता उल्लघंनको घटना नभएको उल्लेख गरे । प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सामाजिक सञ्जालमा भ्रामक र मिथ्यापूर्ण सूचना फैलने गरेको भन्दै नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषण गर्ने दायित्व पत्रकारको रहेको बताए ।

उनले आचारसहिंता पालानमा सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राखे । आचारसहिंता अनुमगनलाई व्यवस्थित र प्रभावकारी बनाइने उनको भनाइ छ । नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापाले आचारसहिंता पालनामा पत्रकारहरु प्रतिबद्ध र जवाफदेही हुनुपर्ने बताए । कार्यक्रममा महासंघको म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम, मुस्ताङ शाखाका अध्यक्ष सुनदेवी रसाइलीलगायतले भनाइ राखेका थिए ।

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीको सहयोगमा आयोजित उक्त कार्यक्रम महासंघको प्रदेश समितिका अध्यक्ष रमेश पौडेलको अध्यक्षता र महासचिव जमुना वर्षा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमका सहभागीलाई समितिका उपाध्यक्ष प्रकाश पौडेल स्वागत र उपाध्यक्ष माया अधिकारीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।