• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

निर्वाचन आचारसहिंताबारे बागलुङका पत्रकारसँग अन्तरक्रिया

बागलुङ, २२ माघ

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको आचारसहिंता कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, बागलुङद्वारा बुधबार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।

मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले निर्वाचनको स्वच्छता र विश्वसनीयतामा प्रश्न उठ्ने गरी कसैले पनि आचारसहिंता उल्लघंन गर्न नहुने बताइन् । उनले निर्वाचनका अवधिमा पत्रकारलाई सहज रुपमा समाचार सङ्कलनको वातावरण सिर्जना गरिने बताइन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले आचारसहिंता कार्यान्वयनमा प्रेस जगतको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले पत्रकारसँगको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै निर्वाचनको सूचना प्रवाहलाई सहज र चुस्त बनाइने बताए । आचारसहिंता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले आचारसहिंता उल्लघंनका विषयमा अहिलेसम्म कुनै उजुरी नपरेको बताए । नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापाले निर्वाचन रिर्पोटिङलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बद्ध पक्षहरुबीच समन्वयको जरुरी रहेको बताए ।

उनले निर्बाध रुपमा समाचार सङ्कलनको वातावरण बनाउने मुख्य निर्वाचन अधिकृतका कार्यालय र स्थानीय प्रशासनलाई अनुरोध गरे । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले निर्वाचन आचारसहिंताबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकार, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।