बागलुङ, २२ माघ
प्रेस चौतारी नेपाल, जिल्ला शाखा बागलुङमा स्थापित पत्रकारिता पुरस्कारबाट जिल्लामा क्रियाशील दुई पत्रकार सम्मानित भएका छन् । चौतारीको २८औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित शुभकामना आदानप्रदान तथा पुरस्कार समर्पण समारोहमा पत्रकार सिर्जना पन्तलाई क्रियाशील पत्रकारिता पुरस्कार र अर्जुन कार्कीलाई प्रेस चौतारी युवा क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं जिल्ला संयोजक मना केसीलगायतले पुरस्कार अर्पण गरेका थिए । दुवै पुरस्कारको राशि रु. दस हजार रहेको छ । पुरस्कृत पत्रकार पन्त नेपाली पत्रकार महासंघ, बागलुङकी उपाध्यक्ष र कार्की सदस्य हुन् । पन्त आदर्श सञ्चार सहकारीमा सह–सम्पादक हुन् भने कार्की जननिगरानी साप्ताहिकका सम्पादक छन् ।
प्रेस चौतारीले विसं २०७२ देखि क्रियाशील पत्रकारिता पुरस्कार र विसं २०७९ देखि प्रेस चौतारी क्रियाशील युवा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । क्रियाशील पत्रकारिता पुरस्कार ज्येष्ठता, कृयाशीलता र निरन्तरताका आधारमा प्रदान गर्ने गरिएको प्रेस चौतारी जिल्ला शाखाका अध्यक्ष कमल पौडेलले बताए । उक्त पुरस्कारबाट हालसम्म १० जना पत्रकार पुरस्कृत भइसकेका छन् । युवा क्रियाशील पत्रकारिता पुरस्कारबाट कार्कीसहित हालसम्म तीन जना पत्रकार पुरस्कृत भएका हुन् ।