• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

बागलुङमा रास्वपाको चुनाव प्रचारमा सेलीब्रेटी अनुहार

बागलुङ, २० माघ

राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङको चुनाव प्रचारमा  सेलीब्रेटी अनुहारलाई अघि सारेको छ । बालेनको भेष र शैलीमा पञ्चकोटबाट चुनाव प्रचारमा निस्केका गायक प्रकाश सपूत केही दिनयता गृह जिल्ला बागलुङमा छन् ।

उनीसहितको रास्वपाको चुनाव प्रचार टोली पश्चिम बागलुङको तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका हुँदै मंगलबार सपूतको जन्मथलो काठेखोला गाउँपालिका आइपुगेको रास्वपा बागलुङले जनाएको छ । सपूत रास्वपाको समानुपातिकतर्फका उम्मेदवारसमेत हुन् ।

‘जनतासँग उम्मेदवार कार्यक्रम’अन्तर्गत बागलुङ क्षेत्र नं. १ का उम्मेदवार सुशील खड्कासँगै सपूत चुनाव प्रचारमा जुटेका हुन् । काठेखोला गाउँपालिकामा रास्वपाको उम्मेदवारसहितको घरदैलो अभियान दुई दिनसम्म चल्नेछ ।

सपूत यसअघि चुनाव प्रचारका लागि बागलुङ क्षेत्र नं. २ का उम्मेदवार सोम शर्मासँगै पश्चिम बागलुङका विभिन्न स्थानीय तहमा पुगेका थिए । रास्वपाको चुनाव प्रचारकै लागि पूर्वमिस नेपाल तथा युवा उद्यमी अनुष्का श्रेष्ठ पनि यतिबेला बागलुङमा छिन् ।

बागलुङ क्षेत्र नं. १ का रास्वपा उम्मेदवार सुशील खड्कासँगै उनी घरदैलो अभियानमा सहभागी भएकी हुन् । श्रेष्ठ पनि रास्वपाको समानुपातिकतर्फकी उम्मेदवार छिन् ।मंगलबार बागलुङ नगरपालिका–३ मा घरदैलो अभियान सम्पन्न भएको रास्वपाको निर्वाचन परिचालन समितिका प्रवक्ता सिलसिला आचार्यले जानकारी दिइन् ।

बुधबार वडा नंं. १ र बिहीबार वडा नं. २ मा उम्मेदवारको घरदैलो कार्यक्रम तय गरिएको उनले बताइन् । केही दिनअघि अभिनेत्री रिमा विश्वकर्मा पनि चुनाव प्रचारका सिलसिलाका बागलुङका विभिन्न स्थानमा पुगेकी थिइन् । उनी पनि रास्वपाको समानुपातिकतर्फकी उम्मेदवार हुन् ।

संसदीय चुनावमा अभ्यस्त भइसकेका पुराना राजनीतिक दल र तिनका उम्मदेवारलाई चुनौती दिँदै रास्वपाले बागलुङका दुवै निर्वाचन क्षेत्रमा नयाँ उम्मेदवारलाई उठाएको छ । नयाँ या पुरानामध्ये कुन दलका उम्मेदवारलाई मतदाताले चुन्ने हुन् त्यसको फैसला भने आगामी फागुन २१ गते हुने चुनावले गर्नेछ ।