• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

धवलागिरि अस्पतालमा डायलासिसका लागि पालो कुर्दै मिर्गौलाका बिरामी

बागलुङ, २० माघ

धवलागिरि प्रादेशिक अस्पताल, बागलुङमा डायलासिस सेवा लिन ३२ जना मिर्गौलाका बिरामी पालो कुर्न बाध्य भएका छन् । अस्पतालमा भवन तथा स्थान अभावका कारण पहिला आउने बिरामीलाई सेवा दिनुपर्ने अवस्था रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताए।

“मिर्गौला फेल भएका बिरामीहरू डायलासिसका लागि अस्पताल आउने क्रम दिनप्रतिदिन बढ्दै गएको छ, ठाउँ साँघुरो भएकाले चाहेर पनि सबैलाई समयमै सेवा दिन सकिरहेका छैनौँ, यो दुःखद अवस्था हो”, उनले भने

उनका अनुसार अस्पताल भवनको ब्लक ‘डी’ तयार भए मात्र पूर्वाधारको समस्या समाधान भई सहज रूपमा सेवा दिन सकिनेछ। जनशक्ति र उपकरण व्यवस्थापन गरिए पनि स्थान अभावका कारण बिरामीहरू पालो कुर्न बाध्य भएका हुन् ।

डा. तिवारीले नीतिगत निर्णय गरी गलकोट र बुर्तिबाङ अस्पतालमासमेत डायलासिस सेवा सुरु गर्न सके बिरामीहरूलाई ठूलो राहत मिल्ने बताए। अस्पतालले हाल दैनिक १५ देखि २० जना बिरामीलाई डायलासिस सेवा दिइरहेको छ । अस्पतालमा अहिले ६० जना बिरामीले नियमित रूपमा यो सेवा लिइरहेका अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत निमा हिताङले जानकारी दिइन् ।

“पालो पाउन अत्यन्तै गाह्रो छ, कुनै बिरामी अन्यत्र गएमा वा मृत्यु भएमा मात्र नयाँ बिरामीको पालो आउँछ,” उनले भनिन् । पालो नपाएपछि अस्पतालमा आउने केही बिरामीहरूले छिमेकी जिल्ला म्याग्दी र पर्वतमा समेत नाम टिपाउने गरेका छन्। जहाँ पहिले पालो आउँछ, त्यहीँ गएर डायलाइसिस गराउने गरिएको छ। हाल अस्पतालमा ११ वटा मेसिनमार्फत सेवा प्रदान भइरहेको छ।

“बेड राख्ने ठाउँसमेत छैन,” हिताङले भनिन्, “आपतकालीन बिरामी आएमा एउटा मेसिन छुट्याएर त्यसमार्फत सेवा दिने गरेका छौँ ।” राज्यले विपन्न बिरामीका लागि हप्तामा दुई पटकसम्म निःशुल्क डायलासिसको व्यवस्था गरेको छ। विपन्नमा सूचीकृत नभएका बिरामीले भने एक पटकको ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले आफू नियुक्त भएलगत्तै प्रदेश तथा संघीय मन्त्रीहरूसमक्ष अस्पतालको समस्या राखेको बताए। पूर्ण पूर्वाधार निर्माणमा समय लाग्ने भएकाले तत्कालका लागि हाल डायलासिस सेवा दिइरहेको भवनको छतमाथि ट्रस निर्माण गरी सेवा विस्तार गर्ने प्रयासमा आफू लागेको उनले बताए।

“सरकारी प्रक्रिया केही झन्झटिलो त हुन्छ,” अध्यक्ष शर्माले भने, “तर हामी सकेसम्म छिटो ठाउँको व्यवस्थापन गरी पर्खाइमा रहेका बिरामीलाई डायलासिस सेवा उपलब्ध गराउने प्रयासमा छौँ।”