• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

पश्चिम बागलुङलाई हाँक्ने नेतृत्वको खोजी

बागलुङ, १९ माघ

प्रतिनिधिसभा सदस्य चुनाव सम्मुखमा छ । बागलुङ क्षेत्र नं. २ मा पनि चुनावी सरगर्मी बढ्दो छ । राजनीतिक दल चुनाव प्रचारमा व्यस्त छन् । उम्मेदवार मतदाताको घरदैलोमा धाइरहेका छन् । अघिपछि मतदातालाई बिर्सेको आरोप लाग्ने गरेका नेताहरु पनि यतिबेला गाउँटोलमा झुल्केका छन् । नयाँ खुलेका राजनीतिक दल र तिनका उम्मेदवार पनि नयाँनयाँ चुनावी वाचा लिएर मतदाताकहाँ पुगिरहेका छन् ।

नेपाल भित्रको ‘सानो नेपाल’ भनेर चिनिने बागलुङका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ ले पश्चिम बागलुङलाई समेटेको छ । भौगोलिक विषमता, गरिबी, बेरोजगारी, अशिक्षा जस्ता समस्यासँग जुधिरहेको यस क्षेत्र दशकौँदेखि विकासको पखाईमा छ । राजनीतिक र राज्यको मूल प्रशासनिक संरचनामा पहुँच राख्न सक्ने नेतृत्वको यहाँ अभाव छ । प्रचुर सम्भावना भएर पनि अविकासको मार खेपिरहेका यहाँका मतदाता दुरगामी दृष्टिकोणसहित विकासको अगुवाइ गर्ने नेतृत्वको खोजीमा छन् । जसले नीति निर्माणसँगै पश्चिम बागलुङलाई विकासको पथमा डो-याओस्।

बहुदलपछिका सात वटा आम निर्वाचनमा मत दिएर जिताएका राजनीतिक दल र उम्मेदवारले अपेक्षित रुपमा काम गर्न नसक्दा यस क्षेत्र विकासमा पछाडि परेको जनगुनासो छ । यस क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बागलुङ–घोडाबाँधे सडक मार्ग खुलेको २५ वर्ष बितिसक्दा पनि कोलोपत्र हुन नसक्नु त्यसकै एक दृष्टान्त हो । दुई दशकदेखि चर्चामा रहेको र सरकाले निर्माण घोषणा गरेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाले पनि गति लिन नसकेमा स्थानीवासी बेखुसी छन् ।

ठूला र रुपान्तरणकारी योजना तत्काल कार्यान्वयनमा आउन नसकेपनि जनजीविकासँग सम्बन्धित समस्या छिटो सम्बोधन हुनुपर्ने मतदाताको माग छ । निर्वाचनताका बाँडेका आश्वासन नेताहरुले पूरा गरुन् भन्ने उनीहरु चाहान्छन् । मध्यपहाडी लोकमार्गले यातायात सेवामा केही सहजता ल्याएपनि यस क्षेत्रका ग्रामिण सडक भने अझैपनि नाजुक स्थितिमा छन् । कतिपय वडामा बाह्रैमास यातायात सञ्चालन गर्न नसकिने अवस्था छ । राष्ट्रिय राजमार्गमा जोडिएपनि यस क्षेत्रमा आर्थिक गतिविधि न्यून छ ।

स्वास्थ्य र शिक्षामा पहुँचको दृष्टिले पनि बागलुङ–२ का बासिन्दा पछाडि छन् । भौगोलिक विकटताका कारण ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिकालगायत स्थानीय तहमा स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच छैन । सबै नागरिकलाई आधारभूत शिक्षा र स्वास्थ्य सेवा पु¥याउन राज्यले गरेको प्रयास यस क्षेत्रमा अप्रयाप्त देखिन्छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार भौगोलिक विकटता र सचेतनाको कमी आदि स्वास्थ्य क्षेत्रका चुनौती हुन् ।

मातृ तथा नवशिशु स्वास्थ्यका दृष्टिले निसीखोला र ढोरपाटन जिल्लाकै कमजोर अवस्थामा छन् । ती दुई स्थानीय तहमा घरमै हुने सूत्केरीको दर पनि बढी छ । गत आवको आँकडा अनुसार निसीखोलाका १६ जना महिला घरमै सुत्केरी भएको जनस्वास्थ्य निरीक्षक शर्माले जानकारी दिइन् । बालबालिकाको विद्यालय छोड्ने दर पनि यही क्षेत्रमा बढी छ । पढाइ बीचमै छाडेर रोजगारीका लागि भारतलगायत मुलुकमा जान यहाँका युवा विवश छन् । गरिबी र विपन्नता यस क्षेत्रको अर्को समस्या हो । व्यावसायिक कृषि, पशुपालन, पर्यटन, खनिज आदिमा अथाह सम्भावना भएपनि स्थानीयवासीको जीवनयापन गुजारामुखी मात्र छ ।

उद्यम र व्यवसाय प्रवद्र्धनका गतिविधि अति न्यून हुने गरेका छन् । वैदेशिक रोजागारीमा जानेको संख्या अधिक छ । अधिकांश भारत र खाडी मुलुक पगेका छन् । अन्य विकसित मुलुकमा अध्ययन र रोजगारीका जानेको संख्या पनि बढ्दो छ । देशकै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष यही क्षेत्रमा पर्ने भएपनि पर्यटनबाट स्थानीयवासीले यथोचित लाभ उठाउन पाएका छैनन् । पर्यटन पूर्वाधार र प्रचारप्रसारको अभाव छ । ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने सरकारको योजना पनि सफल हुन सकेको छैन ।

जिल्लाको सबैभन्दा होचो भूभाग बडीगाड गाउँपालिकाको खर्बाङ बजार (छ सय मिटर) देखि सबैभन्दा अग्लो भूभाग ढोरपाटनमा पर्ने फागुने धुरी (चार हजार छ सय ९० मिटर) यही क्षेत्रमा पर्छ । यस क्षेत्र छिमेकी जिल्ला गुल्मी, प्यूठान, रोल्पा, रुकुम पूर्व र म्याग्दीसँग जोडिएको छ । बेसीका सम्म फाँटदेखि लेकका पाटनसम्म यहाँको भूगोल फैलिएको छ । ढोरपाटन सिकार आरक्ष, घुम्टेको लेक, गलकोट दरबार, पातीहाल्ने, तिलाचन ताल, रिघा ताल, बराह ताल, नौडल्ले पहाड, डुँडेको लेक, निलुवा, सहस्रधारा झरना, टेउवा मूर्तिकला सङ्ग्रहालय, सोलेडाँडालगायत यहाँ मुख्य पर्यटकीय क्षेत्र हुन् ।

जिल्लाको मौलिक पहिचानमा रुपमा रहेका बुट्टेनली, नेपाली हातेकागज, राडीपाखी, भाँगो आदि पनि यही क्षेत्र पाइन्छ । कुनैताका तामाखानी चलाएका छन्त्याल जातिको बसोबास पनि यही क्षेत्रमा छ । तमानखोला गाउँपालिकामा पर्ने लाम्मेलाखानी, गुर्जाखानी, खुङ्खानी, बोङ्खानी, घोसाखानी, घैयाखानीलगायत ‘उपल्लो बाइस खानी’ अन्तर्गत थिए । ती ठाउँमा अहिलेपनि तामाखानीका तोबा (प्वाल), सुरुङ र अवशेष भेटिन्छन् ।

स्थानीयवासीका अनुसार पुस्तौँदेखि चलेका तामाखानी श्री ३ चन्द्र शमशेरको पालामा विसं १९८१ देखि बन्द भएका हुन् । तत्कालिन सरकारले कर (भेजा उठाउने) नियम बसालेपछि गाउँलेले तामा निकाल्न छाडेका थिए । छन्त्यालहरुले रैथाने प्रविधिबाट तामा उत्खनन गर्थे । गाउँपालिका अध्यक्ष जोकलाल बुढा तामाखानी रहेको क्षेत्रको पहिचान र सूचीकृत गर्न पहल थालिएको बताउनुहुन्छ । तामाखानीको सम्भाव्यता अध्ययनपछि खोज र उत्खननका लागि पहल अगाडि बढाउने गाउँपालिकाको योजना छ ।

यस क्षेत्रमा बसोबास गर्ने जातजातिका आफ्नै मौलिक संस्कृति छ र रहनसहन छ । ताराखोलाको सिस्नो खोस्ने पर्वदेखि निसीखोलाको पुतली नाच, गलकोटको सती घाटुदेखि ढोरपाटनको झाँक्री नाचसम्म यहाँका सांस्कृतिक धरोहर हुन् । यस क्षेत्रमा क्षेत्री, ब्राम्हण, जनजाति, दलित आदिको मिश्रित बसाबोस रहेको छ । बागलुङ–२ मा गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा समेटिएको छ ।

यस क्षेत्रमा कुल ९६ हजार तीन सय ३५ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो । तीमध्ये महिला मतदाता ४८ हजार दुई सय पाँच र पुरुष मतदाता ४७ हजार एक सय ३० छन् । यस क्षेत्रमा ५९ मतदानस्थल र एक सय १५ वटा मतदान केन्द्र रहेका छन् । विसं २०४८ को आम निर्वाचनमा यस क्षेत्रमा नेपाली काँग्रेसका ओमप्रसाद गौचन विजयी भएका थिए ।

विसं २०५१ र २०५६ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाका परी थापा, विसं २०६४ को संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका निरज पुन, विसं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका ज्ञानकुमारी छन्त्याल विजयी भएकी थिइन् । विसं २०७४ को निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट देवेन्द्र पौडेल र विसं २०७९ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट पौडेल नै विजयी भएका थिए ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपा (एमाले)बाट मन्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे ‘अनिल’, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही उम्मेदवार रहेका छन् । यस्तै जनता समाजमादी पार्टीका पूर्णबहादुर घर्ती, मङ्गोल नेशनल अर्गनाइजेसनबाट जुनबहादुर थापा मगर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, नेशनल रिपब्लिक नेपालबाट नरबहादुर बुुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुवँर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट लोकेन्द्र घिमिरे र श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन चुनावी मैदानमा छन् । फागनु २१ मा हुने मतदानबाट कुन उम्मेदवारलाई प्रतिनिधिसभामा पठाउने त्यो मतदाताको हातमा छ ।