बागलुङ, १८ माघ
बागलुङ एकता क्लबद्वारा आयोजित तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि पर्पल हेज एभीएमले हात पारेको छ । शनिबार बांगेचौर खेल मैदानमा भएको फाइनल खेलमा संकल्प पुर्नस्थापना केन्द्रलाई २–३ को गाल अन्तरले पराजित गर्दै पर्पल हेलले उपाधि जितेको हो ।
उपाधि विजेता पर्पल हेजले नगद रु. दुई लाखसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता संकल्पले रु. एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । सेमिफाइनलमा पराजित रुद्रेपिपल युवा क्लब र आयोजक बागलुङ युनिटी ‘बी’ले नगद २०र२० हजार प्राप्त गरेको अध्यक्ष साहिल खड्काले जानकारी दिए ।
क्लबका दिवंगत सदस्यहरूको स्मरणमा आयोजित प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडीको रुपमा पर्पलका निशान थापा, सर्वाधिक गोलकर्तामा पर्पलकै अभिषेक केसी, उत्कृष्ट गोलरक्षकमा पर्पल कै सन्दिप क्षेत्री र बेष्ट डिफेन्डरमा संकल्पका सनिस श्रेष्ठ पुरस्कृत भएका थिए। प्रतियोगिताका बिजेता टिम तथा खेलाडीलाई बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।
