• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

पोखरा, १६ माघ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन गरिने भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा २२ सय चार, मनाङमा दुई सय ३३, लमजुङमा १२ सय १०, कास्कीमा दुई हजार आठ र तनहुँमा १५ सय ७३ निर्वाचन प्रहरी परिचालन गरिने भएको हो ।

यस्तै स्याङ्जामा १९ सय ४७, नवलपुरमा १५ सय ४३, मुस्ताङमा दुई सय ६६, म्याग्दीमा सात सय ६५, बागलुङमा १२ सय ९८ र पर्वतमा नौ सय ६५ जना निर्वाचन प्रहरी खटाइने कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीबाट निर्वाचन सुरक्षाका लागि सात हजार एक सय ४० जना परिचालन गरिने भएको छ ।

नेपाल प्रहरीतर्फ गोरखामा एक हजार तीन, मनाङमा एक सय ६३, लमजुङमा छ सय छ, कास्कीमा नौ सय ५७, तनहुँमा आठ सय ३८, स्याङ्जामा नौ सय ४०, नवलपुरमा आठ सय १८, मुस्ताङमा दुई सय दुई, म्याग्दीमा चार सय ११, बागलुङमा छ सय ५८ र पर्वतमा चार सय ३९ जना खटिने छन् ।

११ वटै जिलालामा निर्वाचन प्रहरीको छनोट भई नियुक्ति र तालिमको प्रकृया सुरू भएको छ । आइतबार नियुक्ति दिएर तालीममा सहभागी गराइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिका सदस्य सचिव चित्रागंत बरालले जानकारी दिनुभयो ।

निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षानिकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइएको उहाँले भनाइ छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई दस दिनसम्म तालीम दिइने समितिका सदस्य सचिव बरालले बताउनुभयो ।

निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ। निर्वाचन प्रहरीले ४० दिनको रु। ३४ हजार ७७६, खाद्यान्न र पोसाकबापतको रकम, तयारी खर्च रु। ८४६ र चार दिनको खाजा खर्च रु। एक हजार २०० उपलब्ध गराइने भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको उक्त समितिले निर्वाचन प्रहरी नियुक्त गर्नेछ ।