बागलुङ, १४ माघ
साङ्गीतिक यात्रामा देश दौडाहा गरेर काठमाडौँ फर्केका गायक तथा अभिनेता प्रकाश सपूतले केहीदिनअघि आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय भएको औपचारिक घोषणा गरे । कलाकर्मबाट एकाएक राजनीतितिर मोडिएका उनले यसलाई जीवनकै कठोर निर्णयका रुपमा अर्थाएका छन् । साङ्गीतिक मञ्चबाट दर्शक/स्रोतालाई रिझाउँदै आएका सपूतले अन्ततः राजनीतिक मञ्च रोजेका छन् ।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगको तस्बिर साझा गर्दै उनले फेसबुक पोस्टमा लेखेका छन् – “बडो दुःख, सङ्घर्ष, मेहेनत र धैर्यताले टिकाएको मेरो कला–सिर्जनामार्फत रिझाएका दर्शक/स्रोताको मन दुखाएर तपाईँहरुसँग हातेमालो गर्दैछु, पेशा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो ।” गायन र अभिनय कलाका कारण उनी स्रोता/दर्शकमाझ लोकप्रिय छन् ।
सपूतले आफू दल विशेषको राजनीतिमा सक्रिय हुँदा चित्त दुःखाएका दर्शक/स्रोताको मन आगामी दिनमा निर्वाह गर्ने भूमिका र इमानले जित्ने बताएका छन् । रास्वपासँग आबद्धताको निर्णय गलत सावित नहुनेमा उनी विश्वस्त सुनिन्छन् । विचारको भारी नभई सुधार, विकास र समृद्धिको जिम्मेवारी बोक्नुपर्ने बेला आएको उनको भनाइ छ ।
वैकल्पिक शक्तिको नेतृत्वमा समृद्ध नेपालको सुरुआत हुनेमा सपूतको विश्वास छ । “अब अन्तिमपटक म र म जस्तै आम नेपालीहरुले कुनै व्यक्ति र शक्तिलाई विश्वास गर्दैछन्, मैले मतदाताको मुहारमा अन्तिम आशा र उत्साह देखेको छु, निरास बनाउने छुट अब रास्वपाको नेतृत्वलाई छैन”, उनले लेखेका छन् ।
सपूतले गलत हुँदा पार्टीलाई खबरदारी गर्ने र राम्रो कामका लागि सारथी भएर हिँड्ने बताए । उनले सबैको राजनीतिक आस्था, विचारको कदर गर्ने र कसैलाई अपमान तथा अनादर नगर्ने प्रतिबद्धता जनाएका छन् । नयाँ समय र आन्दोलनको सम्बोधन गर्न आफू नयाँ राजनैतिक शक्तिसँग आबद्ध भएको उनको जिकिर छ ।
सिर्जनामार्फत सामाजिक विषयवस्तु उठाउँदै आएका सपूतसँग राजनीतिक भूमिकाबाट सामाजिक रुपान्तरणमा थप योगदान गर्ने हुटहुटी छ । राजनीतिलाई पेसा बनाएर व्यक्तिगत लाभ र अवसरका रुपमा दुरुपयोग गर्न नहुने उनको भनाइ छ । सपूत राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फका उम्मेदवारसमेत हुन् । दलित कलस्टरतर्फ दोस्रो नम्बरमा उनको नाम समावेश छ ।
राजनीतिक भूमिकामा जोडिए पनि सिर्जना कर्मलाई निरन्तरता दिने सपूतले बताए । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मेका सपूत गायन क्षेत्रका सुपरिचित प्रतिभा हुन् । उनका ‘बोलमाया’ ‘गलबन्दी’, ‘पिर’, ‘मेरो पनि होइन र’, फूलमाया’, ‘बदला बरिलै’, ‘कुरा बुझ्न पर्छ’लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उनी गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका रुपमा पनि चिनिन्छन् ।
सपूतका कतिपय सिर्जनालाई लिएर विगतमा सार्वजनिक विवाद र बहससमेत हुने गरेको थियो । सामाजिक परिवेश, जनजीवनका कथाव्यथा, मौलिक संस्कृति आदि आफ्ना सिर्जनाको स्रोत रहेको सपूतको भनाइ छ । उनको गायनबाट प्रौढदेखि बालबालिकासम्म मुग्ध हुन्छन् ।
सपूत अभिनय कलामा पनि पोख्त छन् । उनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘वसन्त’ गत वर्ष प्रदर्शनमा आएको थियो । निर्देशकीय हिसाबले ‘वसन्त’ उनको पहिलो चलचित्र हो । उनले ‘पूर्णबहादुरको सारङ्गी’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’लगायतका चलचित्रमा अभिनय गरेका छन् । गायन, चलचित्र निर्देशन र अभिनय हुँदै सपूतले राजनीतिमा ‘यूटर्न’ लिएका हुन् ।
विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक यात्रा तय गरेका सपूत अहिलेका सर्वाधिक सफल कलाकारमा दरिएका छन् । मौलिक गीत ‘गलबन्दी’बाट चर्चाको उचाइमा पुगेका उनका गीतका म्यूजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ पाएका छन् । साङ्गीतिक यात्राका क्रममा देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ हुने सपूतलाई राजनीति कत्तिको फाप्ने हो त्यो भने हेर्न बाँकी छ ।
