• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

ताराखोलामा नेकपा र राजमोको संयुक्त चुनावी तयारी बैठक

बागलुङ, १३ माघ

ताराखोला गाउँपालिकाको केन्द्र अर्गलमा सोमबार नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावी तयारी बैठक सम्पन्न भएको छ । दुवै दलका तर्फबाट साझा उम्मेदवार रहेका नेकपाका ज्ञामनाथ गैरे ‘अनिल’लाई विजयी बनाउने लक्ष्यसहित पालिकास्तरमा बैठक र निर्वाचन परिचालन योजना निर्माण भइरहेको हो ।

नेकपाका गाउँपालिका अध्यक्ष पदम खत्री ‘दिवस’को अध्यक्षतामा सम्पन्न बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र परिचालनलाई तीव्र बनाउने निर्णय भएको जनाइएको छ ।

नेकपा केन्द्रीय सदस्य तथा बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’को प्रमुख अतिथ्यतामा बैठक सम्पन्न भएको थियो । उम्मेदवार गैरेले यसपटक क्षेत्र नम्बर २ मा नेकपा र राजमोको संयुक्त उम्मेदवारलाई जिताउन टोल–टोलबाटै नेता–कार्यकर्ता परिचालित हुन आवश्यक रहेको बताए । उनले पार्टीलाई विजयी बनाउन सबै कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका थिए ।

बैठकमा राजमो जिल्ला समिति सदस्य तीर्थसिंह थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । बैठकमा राजमोका समानुपातिक उम्मेदवार बेदिलाल सापकोटा, नेकपाका केन्द्रिय सदस्य नेता फमलाल न्यूरे, ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर बिक, नेकपाका केन्द्रिय सदस्यहरु कमल घिमिरे, राजिव घिमिरे, राजमो सचिव भिमलाल पोखरेल तथा नेकपा बागलुङका संयोजक प्रकाश घर्तीलगायतको उपस्थिति रहेको थियो । बैठकको औचित्य र महत्वबारे संयोजक प्रकाश घर्तीले प्रष्ट पारेका थिए ।

बैठकका निर्णयहरू नेकपाका केन्द्रीय सदस्य फमलाल न्यूरे र राजमो सचिव भिमलाल पोखरेलले प्रस्तुत गरेका थिए । साथै गाउँपालिकाको आगामी कार्ययोजना तथा जिम्मेवारीबारे धनबहादुर विक हिमालले जानकारी गराएका थिए ।

बैठकबाट पालिकास्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने, वडा स्तरीय भेला तथा निर्वाचन परिचालन र निर्वाचन केन्द्र सम्पर्क कार्यालय स्थापना गर्ने, टोल केन्द्रित कार्यक्रम सञ्चालन गर्ने, युवा तथा महिला परिचालन समिति गठन गर्ने, उम्मेदवार परिचय तथा भेटघाट कार्यक्रम तय गर्ने, मतदाता शिक्षा, प्रशिक्षण तथा अध्ययन समिति गठन गर्ने तथा कार्यालय सम्पर्क, समन्वय र परिचालन समिति गठन गर्ने निर्णय गरिएको छ ।

नेकपाको २ नं. क्षेत्रको निर्वाचन परिचालन समितिका अनुसार माघ १३ गते गलकोट नगरपालिका, १४ गते बडिगाड गाउँपालिका, १५ गते ढोरपाटन नगरपालिका, १६ गते तमान खोला गाउँपालिका र १७ गते निसीखोला गाउँपालिकामा दुवै पार्टीको संयुक्त निर्वाचन तयारी बैठक हुने भएको हो । उक्त बैठकमा सम्बन्धित भूगोलको उपल्लो कमिटीका सबै पदाधिकारी र समितिका सदस्यहरु, वडा कमिटीका अध्यक्ष, सचिवलगायत पदाधिकारी, जनवर्गीय मोर्चाका प्रमुखसहितलाई अनिवार्य उपस्थितिका लागि सूचित गरिएको निर्वाचन परिचालन समितिले जनाएको छ ।