पोखरा, १२ माघ
स्वरूप परिवर्तन ९मोडिफाइड० गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले गत असोजदेखि सुरू गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म दुई सय ५२ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले संयुक्त रुपमा सुरु गरेको उक्त अपरेसनका क्रममा मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, समाजमा त्रास सिर्जना गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल र तिनका चालकलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याइएको हो ।
समाजमा आतंक सृजना गर्ने र जाँचका बेला प्रहरीसँग वादविवाद गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान पश्चात
सम्झाइबुझाइ परिवारको जिम्मा लगाउने गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
मोटरसाइकलका पार्टपूर्जाहरु फेरेर स्वरुप परिवर्तन गर्ने, साइलेन्सरबाट चर्को र पड्किने आवाज निकाल्ने, रातको समयमा ध्वनि प्रदूषण गर्ने, समाजको शान्ति सुव्यवस्था खल्बलाउने जस्ता गतिविधि भइरहेको जनगुनासो बढेपछि प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रणमा लिन ‘अपरेसन ३६५’ सञ्चालन गरेको हो ।
प्रहरीले यो अभियान निरन्तर सञ्चालन हुने जनाएको छ । कास्की प्रहरीले गत वर्ष पनि अभियानकै रूपमा यस प्रकृतिका मोटरसाइकल नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याएको थियो ।
स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।