यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार हिरा बहादुर केसीले आइतबारदेखि घरदैलो अभियान शुरु गर्नुभएको छ । बागलुङ नगरपालिका–१ रामरेखा गंगापथ स्थित बागलुङ नगरपालिकाका संस्थापक मेयर स्वर्गिय ऋषिराम शर्माको घरबाट एमाले बागलुङ क्षेत्र नम्बर एकको घरदैलो अभियानको शुरुवात गरिएको छ ।
कम्युनिष्ट र सादगी नेताका रुपमा रहेका शर्माको घरबाट घरदैलो अभियानको शुभारम्भ गरिएको हो । स्वर्गिय शर्माको धर्मपत्नी तथा एमाले नेतृ गिता शर्मा लगायत उपस्थितबाट उम्मेदवार केसीलाई शुभकामना दिएर घरदैलोको सुरुवात गरिएको छ ।
घरदैलो अभियानमा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मनकारी केसी, केन्द्रिय सदस्य डा। सुर्य पाठक, एमाले नेता इन्द्रलाल सापकोटा लगायत बागलुङ नगरपालिका–१ स्थित वडा पार्टी कमिटिका नेताहरुको उपस्थितिमा बागलुङ नगरपालिकाको गंगापथबाट शुरु भएको रामरेखाका विभिन्न टोलमा घरदैलो गरिएको थियो । घरदैलोका क्रममा नेता केसीले आफू जनताको निरन्तर साथमा रहेको भन्दै तेस्रोपटक निर्वाचनमा होमिएको बताउनुभयो ।
उहाँले मतदाताहरुलाई तेस्रो पटक निर्वाचनमा होमिएकोले मतदाताबाट न्याय पाउने विश्वास व्यक्त गर्नु भएको छ । “सानै उमेरमा राजनीतिमा होमिएको म जनताबाट निर्वाचित भइर बागलुङको विकास निर्माण र ऐजेण्डालाई केन्द्रमा पु¥याउन चाहान्छु” घरदैलोको क्रमममा नेता केसीले मतदातादाई भन्नुभयो “पार्टीको प्रतिनिधि भए, जनताको प्रतिनिधिको रुपमा सेवा गर्ने मौका दिनुहोस समग्र बागलुङका विकासमा टेवा पु¥याउन निरन्तर खट्नेछु ।”
राजनीतिमा होमिएर निरन्तर यही भूगोलमा सक्रिय भएको बताउदै केसीले यस अघि दुइ पटक थोरै मतले पराजित भएको बताउदै तेस्रो पटक न्यायको अपेक्षा गरेको बताउनुभयो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका हरि बहादुर खड्कासंग र २०७९ को गण्डकी प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकै दिपेन्द्र बहादुर थापा मगरसंग पराजित भएका केसी तेस्रो पटक चुनावी मैदान उत्रनु भएको छ ।
स्थिरता, रुपान्तरण र समृद्धिसंग राजनीतिलाई जोड्नका लागि निरन्तर सक्रिय रहदै आएका केसीले पटक पटक निर्वाचनमा पराजित भएको एउटा युवालाई संसदमा गएर बागलुङको विकास र समृद्धिका बारेमा आवाज उठाउने अवसर प्रदान गर्न मतदाताहरुलाई आव्हान गर्नु भयो । हिरा केसीले दुइ पटक चुनावमा पराजित भएर पनि तेस्रो पटक चुनावमा होमिनु भएको छ, एक पटक मत दिएर न्याय गर्नु पर्छ भन्ने सन्देश घर घरमा पु¥याउन उहाँले पार्टीका नेता कार्यकर्ताहरुलाई आव्हान गर्नु भयो ।
प्रत्येक पार्टी सदस्यले प्रत्येक दिन मतदातासंग भेटघाट गर्ने, छलफल गर्ने र सांझ एक घण्टा पालिका कमिटिसंग सम्वाद गर्ने, प्रचार अभियानलाई प्रभावकारी बनाउने, माघ १५ गतेभित्र सबै वडामा निर्वाचन परिचालन कमिटि गठन गर्ने, सम्पर्क कार्यालय सञ्चालन गर्ने लगायतको काम गर्ने एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिनुभयो ।