आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन नेपाली कम्युनिस्ट पार्टी, बागलुङ जनभेटघाटसहित चुनावी अभियानमा होमिएको छ ।
आइतबार तमानखोला गाउँपालिकाका विभिन्न टोलबस्तीमा पुगेर स्थानीय नेता-कार्यकर्ता र मतदातासँग भेटघाट तथा अन्तरक्रिया गरिएको नेकपाका जिल्ला संयोजक एवं निर्वाचन परिचालन समितिका सदस्य प्रकाश घर्तीले बताए ।
बागलुङ-२ का उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’सहितको टोलीले आइतबार तमानखोला गाउँपालिका(३ सन्तर, वडा नं. ६ को पात्ले, नर्जा र भित्रीवनमा जनभेटघाट गरेको उनले बताए । “उम्मेदवारसहित जनताको घरदैलोमा पुगीरहेका छौँ, नेपाली कम्युनिस्ट पार्टीप्रति जनतामा उत्साह देखिएको छ”, संयोजक घर्तीले भने, “विगतका चुनावमा पनि तमानखोलाले नेकपाप्रति भरोसा र विश्वास गर्दै आएको छ, योपटक त्यो अझ गुणात्मक ढंगले बढ्छ ।”
शनिबार तमान गाउँ र लाममेलामा जनभेटघाट गरिएको उनले जानकारी दिए । गत शक्रबार बागलुङ-२ को निर्वाचन परिचालन समितिको बैठक चुनावी अभियान संचालनका लागि पालिकास्तरीय संयुक्त बैठक राख्ने निर्णय गरिएको भएको संयोजक घर्तीले बताए । बागलुङ-२ मा नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट साझा उम्मेदवारका रूपमा गैरे चुनावी मैदानमा छन् ।
२ नं. क्षेत्रको निर्वाचन परिचालन समितिका अनुसार माघ १२ गते ताराखोला गाउँपालिका, १३ गते गलकोट नगरपालिका, १४ गते बडिगाड गाउँपालिका, १५ गते ढोरपाटन नगरपालिका, १६ गते तमान खोला गाउँपालिका र १७ गते निसीखोला गाउँपालिकामा दुवै पार्टीको संयुक्त निर्वाचन तयारी बैठक हुने भएको हो ।
उक्त बैठकमा सम्बन्धित भूगोलको उपल्लो कमिटीका सबै पदाधिकारी र समितिका सदस्यहरु, वडा कमिटीका अध्यक्ष, सचिवलगायत पदाधिकारी, जनवर्गीय मोर्चाका प्रमुखसहितलाई अनिवार्य उपस्थितिका लागि सूचित गरिएको निर्वाचन परिचालन समितिले जनाएको छ ।