• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

क्यान्सर सचेतनाका लागि साइकलयात्रा

बागलुङ, ११ माघ

“क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरुलाई बाँड्न चाहन्छु”, कविता चित्रकारले भन्नुभयो, “क्यान्सरसँग जुध्न हिम्मत बटुँले, चुनौती र सङ्घर्षलाई रोजेँ ।” साइकलबाट मध्यपहाडी लोकमार्ग छिचोल्दै गर्नुभएकी उहाँ शनिबार सुदूरपश्चिम प्रदेशको अछाम पुग्नुभएको छ । साइकलयात्रामा उहाँ एक्ली भने हुनुहुन्न । अर्का क्यान्सर विजेता हर्क लामासहित साइकलयात्रीको टोली मध्यपहाडको लामो यात्रामा निस्केको हो ।

गत पुस १७ गते पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको साइकलयात्रीको टोली गण्डकी प्रदेशको कास्की, पवर्त, बागलुङ हुँदै केहीदेनिअघि लुम्बिनी प्रदेश प्रवेश गरेको थियो । क्यान्सर सचेतनाका लागि मध्यपहाडको झण्डै १८ सय किलोमिटर लामो साइकलयात्रा तय गरिएको चित्रकारले बताउनुभयो । “ठाउँठाउँमा क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “क्यान्सर रोगबाट प्रभावितहरुलाई प्रेरणा र हौँसला दिनुपनि हाम्रो यात्राको अर्को उद्देश्य हो ।”

काठमाडौँ निवासी चित्रकारलाई चार वर्षअघि स्तन क्यान्सर भएको थियो । तेस्रो चरणमा पुगेको अवस्थामा क्यान्सर पत्ता लागेपनि नियमित उपचारपछि उहाँले क्यान्सरलाई जित्नुभएको थियो । नेपालमै गरिएको उपचारले आफू निको भएको चित्रकारले सुनाउनुभयो । “अहिले पनि क्यान्सरको नियमित जाँच र परीक्षण गराइरहनुपर्छ”, उहाँले भन्नुभयो, “क्यान्सर लाग्दैमा नआत्तिन सबैलाई आग्रह गर्छु, जस्तोसुकै कठिन परिस्थितिमा पनि आशावादी भएर बाँच्नुपर्छ भन्ने सन्देश दिन चाहान्छु ।”

सिन्धुपाल्चोकका हर्क लामालाई पनि केही वर्षअघि पिसाबथैलीको क्यान्सर भएको थियो । क्यान्सर विजेता उहाँ अहिले क्यान्सर सचेतनासँगै क्यान्सरका बिरामीको उपचार र हेरचाहमा तल्लिन हुनुहुन्छ । क्यान्सर प्रभावितले अस्पतालमा भोगिरहेको समस्या देखेपछि बिरामीका लागि उपचार कोष बनाउने योजना अनुसार मध्यपहाडी लोकमार्गको साइकलयात्रामा निस्किएको उहाँले बताउनुभयो ।

“समाजमा क्यान्सरलाई जुन खालको भय र त्रासको दृष्टिले हेरिन्छ, त्यसलाई चिर्न पनि यो साइकलयात्राले मद्दत पु¥याउँछ”, उहाँले भन्नुभयो, “समयमा निदान र उपचार हुन सकेमा क्यान्सर निको हुन्छ र क्यान्सर विजेताले पनि अरु सरह जीवन बाँच्न सक्छन् भन्ने सन्देश प्रवाह हुनेछ ।” साइकलयात्रामा साइक्लिङ खेलाडी उषा खनाल, धुलिखेल अस्पतालका डा विकास पराजुलीलगायत सहभागी छन् । साइकल कल्चर कम्युनिटी र धुलिखेस अस्पतालको सहकार्यमा साइकलयात्रा तय गरिएको धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा सुमन ताम्राकारले बताउनुभयो ।

शनिबार अछाम हुँदै डोटी पुग्ने योजना रहेको उहाँले सुनाउनुभयो । २८ दिनको साइकलयात्राले २४ दिन पार गरिसकेको छ । बैतडीको झुलाघाट पुगेर साइकलयात्रा टुङ्गिने प्राडा ताम्राकारले बताउनुभयो । “यसबीचमा ११ जिल्लाका १३ स्थानमा क्यान्सर सेचतनाका कार्यक्रम गरेका छौँ, झण्डै १७ सय जना सर्वसाधारण लाभान्वित हुनुभएको छ”, उहाँले भन्नुभयो, “सम्बन्धित जिल्लाका स्थानीय तह, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्थाहरुसँग समन्वय गरिरहेका छौँ ।”

साइकलयात्रा क्रममा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरलगायतका विषयमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको हो । साइकलयात्राका माध्यमबाट धुलिखेल अस्पतालमा क्यान्सर उपचार कोष स्थापना गरिने प्राडा ताम्राकारले बताउनुभयो । अभियानका क्रममा सङ्कलन भएको रकममा अस्पतालले थप ५० प्रतिशत रकम उपलब्ध गराउने उहाँको भनाइ छ ।

क्राउड फन्डिङ ‘गो फन्ड मी’मार्फत कोषका लागि सहयोग सङ्कलन भइरहेको जनाइएको छ । हालसम्म ३० लाखभन्दा बढी रकम सङ्कलन भइसकेको प्राडा ताम्राकारले बताउनुभयो । उक्त कोषको रकम क्यान्सरका बिरामीको उपचारमा खर्च गरिने उहाँको भनाइ छ । धुलिखेल अस्पतालमा क्यान्सरको उपचारका लागि आउने विपन्न परिवारका सदस्यहरुलाई कोषबाट सहयोग प्रदान हुने प्राडा ताम्राकारले बताउनुभयो ।

साइकलयात्राका क्रममा सङ्कलन भएको रकम आगामी फेबु्रअरी ४ मा पर्ने विश्व क्यान्सर दिवसका दिन अस्पताललाई हस्तान्तरण गर्ने योजना रहेको जनाइएको छ । नेपालको पूर्व–पश्चि जोड्ने मध्यपहाडी लोकमार्गको साइकलयात्रालाई जोडेर क्यान्सर विजेताको जीवन–कथालाई वृत्तचित्रमा पनि उतारिने प्राडा ताम्राकारले बताउनुभयो ।