बागलुङ, १० माघ
केही समयअघि स्पेनमा निधन भएका बागलुङको गलकोट नगरपालिका–७ मल्मका घनश्याम केसीको परिवारलाई विदेशमा रहेको विभिन्न नेपाली सङ्घसंस्था र आफन्तहरुले रु. २५ लाख ४१ हजार ४८ आर्थिक सहयोग गरेका छन् ।
मल्मका युवा व्यवसायी बाबुराम केसीको पहलमा घुम्टे युवा परिवार जापान शाखाबाट रु. आठ लाख ५५ हजार आठ सय ७८, माइतीपक्ष र आफन्तहरुबाट रु. आठ लाख पाँच सय ७०, नेपाल समाज एसोसियसन स्पेन र गैरआवसीय नेपाली सङ्घ क्षेत्रीय समिति कोष्टाब्लाङ्काका तर्फबाट रु. सात लाख ४६ हजार छ सय र नर्बेमा रहेका नेपालीहरुबाट रु. एक लाख ३६ हजार केसी परिवारलाई सहयोग प्रदान भएको हो ।
जापानमा घुम्टे युवा परिवार जापान शाखाका सचिव प्रकाश केसीको नेतृत्वमा सहयोग सङ्कलन गरिएको थियो । उक्त सहयोग रकम गलकोट नगरपालिका–७ का वडाध्यक्ष राजबहादुर थापालगायतको उपस्थितिमा दिवङ्गत केसीका श्रीमती लक्ष्मी र परिवारजनलाई हस्तान्तरण गरिएको सहयोग अभियानका संयोजनकर्ता बाबुराम केसीले बताए । “घनश्याम केसीका छोराछोरीको पढाइ र भविष्यको सुरक्षाका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको हो”, उनले भने, “प्रवासी नेपालीहरुबाट महत्वपूर्ण सहयोग प्राप्त भएको छ ।”
निमोनियाबाट ग्रस्त केसीको केही समयअघि स्पेनमा निधन भएको थियो । उनी १८ महिनाअघि मात्र स्पेन पुगेका थिए । केसीको घरमा श्रीमती लक्ष्मी, छोरा सौगात र छोरी श्रृद्धि रहेकी छिन् ।