• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

बागलुङमा निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप

बागलुङ, १० माघ

बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ । यसअघि दुईपटकसम्म दरखास्त माग गरिएकामा आवेदन कम परेको हुनाले आइतबारसम्म म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बागलुङमा १२ सय ९८ निर्वाचन प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । निर्वाचन प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बरेङ, गलकोट र बुर्तिबाङमा दरखास्त बुझाउन सकिने जनाइएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ती समितिले निर्वाचन प्रहरीको छनौट र नियुक्ती गर्नेछ ।

प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रुपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइने भएको छ ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न जान्ने व्यक्तिले निर्वाचन प्रहरीका लागि दरखास्त दिन पाउने जनाइएको छ । निर्वाचन प्रहरीले ४० दिनको रु. ३४ हजार सात सय ७६, खाद्यान्न र पोशाक बापतको रकम, तयारी खर्च रु. आठ सय ४६ र चार दिनको खाजा खर्च रु. १२ सय उपलब्ध गराइने छ ।