• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

विद्यामन्दिर पुस्तकालयले मनायो ७९औँ स्थापना दिवस

बागलुङ, ९ माघ

विद्यामन्दिर पुस्तकालय बागलुङको ७९औँ स्थापना दिवस त्रिदिवसीय कार्यक्रमसहित मनाइएको छ । वसन्त पञ्चमीका दिन शुक्रबार मूल समारोहको आयोजना गरिएको थियो । उक्त समारोहमा पुस्तकालयका पूर्वअध्यक्ष श्रवणलाल शाक्यलाई सम्मान गरिएको पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

सो अवसरमा बागलुङको गलकोट नगरपालिका–७ का लक्ष्मी, पुनम, पूजा र कृपा थापाले आफ्ना दिवङ्गत हजुरबुबा र हजुरआमाको स्मृतिमा स्थापित ‘महावीर–पवित्रका स्मृति कोष’को रकम हस्तान्तरण गरिएको थियो । स्थापना दिवसका अवसरमा सरसफाइ, बालबालिकाको निःशुल्क दन्त परीक्षणलगायतका कार्यक्रम गरिएको थियो । वसन्त पञ्चमीका अवसरमा पुस्तकालयमा सरस्वती पूजा गरिएको थियो ।

मूल समारोहका प्रमुख अतिथि बागलुङ नगरपालिका–३ का वडाध्यक्ष सनी केसी ‘लक्ष्मण’ पुस्तकालयको विकासमा नगरपालिकाका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । देशकै पुरानो र अग्रणीमध्येको उक्त पुस्तकालय विसं २००३ श्रीपञ्चमी पर्वका दिन स्थापना गरिएको थियो । सोही तिथीलाई पारेर तीन वर्षअघिदेखि पुस्तकालयको स्थापना दिवस मनाउन सुरु गरिएको थियो । राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको सामाजिक, राजनीतिक जागरणको केन्द्रको रुपमासमेत विद्यामन्दिर पुस्तकालयलाई लिइन्छ ।

स्थापनाकालमा काठमाडौं उपत्यकाहुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् । पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय पनि छ । पुस्तकालयले बाल विकास केन्द्र पनि सञ्चालन गरिरहेको छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्ताकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ । दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्यले पुस्तकालय स्थापना गरेका थिए ।