बागलुङ, ९ माघ
साताव्यापी रुपमा विविध कार्यक्रम गरी धवलागिरि बहुमुखी क्याम्पसले आफ्नो ६३औँ वार्षिकोत्सव मनाएको छ । वसन्त पञ्चमीका दिन शुक्रबार आयोजित वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयलाई प्रशासनिक संरचनालाई विकेन्द्रित गरिने बताए । उनले पृथ्वीनारायण क्याम्पसलाई त्रिवि गण्डकी प्रदेशस्तरीय च्याप्टरका रुपमा विकास गर्न लागिएको बताए ।
उपकुलपति प्राडा अर्यालले शिक्षक र कर्मचारी नियुक्तीमा देखिँदै समस्या समाधानका लागि समयमा विज्ञापन गरिने उल्लेख गरे । उनले त्रिवि सुधारका लागि आफूले योजना बनाएर काम सुरु गरेको बताए । वार्षिकोत्सव समारोहमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ, बागलुङका अध्यक्ष राम थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीसहित वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रममा विजयी बनेका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
गत शुक्रबारदेखि सुरु भएको वार्षिकोत्सव सप्ताहअन्तर्ग पहिलो दिन पत्रकार भेटघाट, प्राध्यापक, कर्मचारी, स्ववियु र पत्रकारहरुबीच मैत्रीपूर्ण फुटबल, स्वास्थ्य शिविरलगायतका कार्यक्रम आयोजना गरिएको थियो । त्यसयता विद्यार्थी, प्राध्यापक, कर्मचारी, पत्रकारलगायतबीचमा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको क्याम्पस प्रमुख सहप्राध्याक डा सुदर्शन सिलवालले जानकारी दिए । उक्त अवधिमा भलिबल, क्रिकेट, ब्याडमिन्टन, वादविवाद, म्याराथनलगायत विभिन्न खेलुकद प्रतियोगिता भएका थिए । गत बुधबार शैक्षिक बहस कार्यक्रमकसमेत आयोजना गरिएको थियो ।